केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो। आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशैं सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ।
बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै गएको छ। बढ्दो सहरीकरणले पनि यो परम्परामा असर पारेको संस्कृतविद् गणेशराम लाछी बताउँछन्।
उनले भने, “इन्द्रजात्रा सके लगत्तै चङ्गा उडाउँथ्यौँ तर अहिलेका बालबालिकादेखि युवापुस्ता मोबाइलमै झुन्डिएको देख्दा यो इतिहास बन्ने जस्तो लाग्छ, अब केही वर्षमा चङ्गा र लट्टाई सङ्ग्रहालयमा (म्युजियम) हेर्न जानुपर्छ।”
असनमा विगत ४१ वर्षदेखि चङ्गा पसल व्यापार गर्दै आएका अनिल श्रेष्ठले पाँच/छ वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री गरेको अनुभव सुनाए। उनले भने, “अहिले भने त्यस्तो छैन। चार/पाँच लाखको बिक्री हुन पनि मुस्किल हुन्छ।”
कागज, प्लास्टिक तथा कपडाको चङ्गा रहेको सो पसलमा भारत र चीनबाट सामान आउने जानकारी दिए। लट्टाई भने नेपालकै हुने गरेको उनले बताए। उनले भने, “पछिल्लो समय धेरैजसो प्लास्टिकको चङ्गा रुचाइन थालेको छ, किनभने यो पानी परेको बेलामा पनि उडाउन मिल्छ।”
भक्तपुरमा २५ वर्षदेखि चङ्गा व्यापार गर्दै आएकी सर्मिला राजभण्डारीले पनि चङ्गाको व्यापार पहिलाभन्दा निकै खस्केको बताइन्। उनले विगतका वर्षमा साउन महिनादेखि भाइटीकासम्म व्यापार हुने चङ्गाको व्यापार हाल करिब ठप्पै भएको गुनासो पोखिन्।
उनी भन्छिन्, “कुनैबेला दिनमै २०–२५ हजार रुपैंयाँसम्मको व्यापार पनि गरियो, अहिले एक/दुई सयको हुन पनि गाह्रो छ।”
ललितपुर पाटनका सुनील श्रेष्ठले पहिला मनोरञ्जनका सामग्री सीमित भएकाले चङ्गा लोकप्रिय भएको तर पछिल्लो समय चङ्गा उडाउने ठाउँको अभावका कारण पनि यस्तो भएको हुनसक्ने बताए। “पहिला पहिला मोबाइल, टिभी, इन्टरनेट थिएन, मनोरञ्जनको माध्यम यही एउटा हुन्थ्यो”, उनी सम्झन्छन्, “म सानो छँदा यी चीज हेरेरै रमाइलो लाग्थ्यो। हाम्रो हातमा नहुँदा पनि हेरेर रमाउने समय थियो त्यो। हाम्रो संस्कृतिले हामीलाई रमाइलो गर्ने धेरै तरिका दिएको छ।गाेरखापत्रबाट
प्रतिक्रिया