कुलेखानी भरिएसँगै पाँच होटल डुवानमा, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी

कुलेखानी भरिएसँगै पाँच होटल डुवानमा, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी

केन्द्रबिन्दु
0
Shares

मुलुककै ‘पावर ब्याकअप’ का रूपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिँदा स्थानीय होटल व्यवसायी पीडामा छन्। करिब ३ सय मिटर चौडा र ७ किलोमिटर लम्बाइको जलाशय पछिल्लो समय भरिएपछि वडा नम्बर–१ मार्खुस्थित होटलहरु पानीमा डुबेका हुन्। लेकको छेऊतिर स्थापित होटलहरु करिब एक सातादेखि डुबेका छन्।

स्थानीय व्यवसायीका अनुसार बाँसबाट निर्मित सामूहिक रिसोर्ट, होटल मार्खु, नेवारी खाजाघर र सबिना खाजाघरलगायत होटल पानीमा डुबेको होटल मार्खुका सञ्चालक निर्मल श्रेष्ठले बताए। उनका अनुसार अब ती होटलहरु पुनःसञ्चालनमा आउन तिहारसम्म कुर्नुपर्नेछ। किनकि, तिहारताका मात्र इन्द्रसरोवरमा पानीको सतह घट्ने अनुमान छ।

नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थापित ती होटलले सरोवर भरिएपछि हुन सक्ने दुर्घटनाको आशंकामा केही दिनअघि नै सामानहरु माथिल्लो क्षेत्रमा स्थानान्तरण गरेका थिए। ‘२०७२ को भूकम्पपछि पहिलोपटक यस्तो अवस्था आयो’, श्रेष्ठले भने, ‘भर्खर पूर्णरूपमा सञ्चालनमा आउने तयारीमा रहेको सामूहिक रिसोर्टका बारहरु भत्केका छन् भने फलामे ट्रस्टबाट निर्मित अन्य होटलमा पनि भौतिक क्षति भएको छ।’

ती होटलहरुले गाउँपालिका कार्यालयमा दर्ता भएर कर तिर्दै आएका थिए। उक्त क्षेत्रमा २४ वटा होटल र १० वटा खाजाघर सञ्चालनमा छन्। कुलेखानीको जलाशय भरिएर टनाटन भएको छ। जलविद्युत् आयोजनाको जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी संकलन गर्न सकिन्छ। आइतबारदेखि पानीको सतह बढेर आएको छालका कारण पानी स्पिल भएको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रमुख धीरेन्द्र चौधरीले जलाधार क्षेत्रमा ठूलो पानी परेर जलाशय भरिएकाले सतर्क रहन जानकारी गराइएको बताए। जलाशय भरिएपछि पानी स्पिल भएर कुलेखानी नदी हुँदै वागमती नदीमा मिसिन्छ। जसका कारण कुलेखानी जलविद्युत् आयोजनाले सतर्क रहन स्थानीयलाई आग्रह गरेको हो। जलाशयको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ।नेपाल समाचारपत्रबाट

Logo