एक महिनामा मौसमी तरकारीको मूल्य ६६ प्रतिशतसम्म घट्याे

एक महिनामा मौसमी तरकारीको मूल्य ६६ प्रतिशतसम्म घट्याे

केन्द्रबिन्दु
0
Shares

एक महिनामा मौसमी तरकारीको मूल्य ६६ प्रतिशतसम्म घटेको पाइएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महिनाको अवधिमा टाटेसिमी, बन्दा, काउली, गाजर, गोलभेंडा, रायोलगायत मौसमी तरकारी र सागपातको मूल्य घटेको पाइएको हो। यतिबेला मौसमी तरकारीको उत्पादन बढेकाले मूल्य केही घटेको बताइएको छ।

महिना दिनअघि प्रतिकिलो १ सय १० रुपैयाँ औसत थोक मूल्य रहेको टाटेसिमीको मूल्य पछिल्लो १ महिनामा ६६ प्रतिशतले घट्दै प्रतिकिलो ३७ रुपैयाँ कायम भएको छ। टनेलको गोलभेंडाको मूल्य पनि ५८ प्रतिशतले घट्दै प्रतिकिलो ६५ रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ। गाजरको मूल्य पनि करीब ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय १० रुपैयाँबाट ५५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी चमसुरको सागको मूल्य पनि ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय ३० रुपैयाँबाट ६५ रुपैयाँमा झरेको छ। स्थानीय काउलीको मूल्य किलोमा १० रुपैयाँले घट्दै ४० रुपैयाँबाट ३० रुपैयाँ, गान्टे मुलाको मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ, सेतो मुलाको मूल्य ३५ रुपैयाँबाट घटेर प्रतिकिलो २२ रुपैयाँ कायम भएको छ। मूल्य घट्नेमा रातो बन्दा, रायोको साग, ब्रोकाउली आदि रहेका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले अहिले मौसमी तरकारीको उत्पादन बढेकाले मूल्य घटेको बताए । उनका अनुसार कालिमाटीमा बढीजसो तरकारी आयात हुने धादिङ, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुरलगायत जिल्लाबाट अहिले यी तरकारीको आयात बढी हुने गरेको छ। कालिमाटीमा अहिले दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिने गरेको छ।अभियान दैनिकबाट

Logo