मधेस प्रदेश : सशस्त्र प्रहरीद्वारा २२ करोड बढीको अवैध सामान बरामद

मधेस प्रदेश : सशस्त्र प्रहरीद्वारा २२ करोड बढीको अवैध सामान बरामद

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले साढेचार महिनाको अवधिमा २२ करोडबढिको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको विशेष निर्देशनमा आठवटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले उक्त करोडौंको अवैध सामान बरामद गरेको हो।

यस आर्थिक वर्षको गत साउन महिनादेखि मंसिर १८ गतेसम्म  २२ करोड ६  लाख , ८ हजार २४८  रुपिया बराबरको भारतबाट अवैधरूपमा भित्र्याएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कारबाहीको लागि सम्बन्धित जिल्ला स्थित भन्सार कार्यालयमा बुझाइएको थियो । त्यस्तै ५१ लाख,८५ हजार ३०० स्रोत नखुलेको नेपाली रुपैया ,६९ सय थान हजारको रुपियाको कागज र ३ हजार नक्कली नेपाली हजारको रुपिया बरामद भएको तथ्याङ्कमा उल्लेख रहेको छ।

 

त्यसैगरी सोही अवधिमा ४० लाख १५ हजार १७५ बराबरको अवैध काठ र ३६ लाख ५३ हजार ४०० बराबरको चौपाया बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको थियो।  त्यसैगरी २० लाख,७२ हजार ,७८८ रुपिया बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। ८६ हजार १०० रुपैया बराबरको नक्कली गहना,तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ३६९ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सोही अवधिमा तस्करी लगायत  विभिन्न गैरकानुनी काममा लागेका ७८ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ । त्यस्तै  २८ हजार  ४१ थान विभिन्न प्रकारको लागूऔषध, १५ क्विन्टल २८  किलोग्राम गांजा, २० किलोग्राम चरेस,२३.५९ ग्राम ब्राउणशुगर, ५ ग्राम खैरो हेरोइन, बरामद गरेको छ । साथै विभिन्न जिल्लामा चोरिछिपी लगाइएको ८ बिगहा गांजाखेती सशस्त्र प्रहरी टोलीले फडानी गरेको छ। 

सोही अवधिमा ४ थान अवैध हतियार र ९ थान गोली सशस्त्र प्रहरीले बरामद गरेको छ। मधेस प्रदेशको ८ जिल्लाको विभिन्न नाकामा फँसेकी २१ जना चेलीबेटी उद्वार, ४६३ पटक ज्वाईंट गस्ती, ३१  पटक भारतीय समकक्षी बैठक र २७  पटक लिंक गस्ती भएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ । सशस्त्र प्रहरीको सक्रियताले गत मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मधेस प्रदेशमा प्रायः सामान्य तरिकाले सम्पन्न भएको दाबी गरिएको छ ।

Logo