दुर्गम गाउँमा रङ्गशाला बन्दै

दुर्गम गाउँमा रङ्गशाला बन्दै

केन्द्रबिन्दु
0
Shares

तमान गाउँको बीचमा पहिले सानो खेलमैदान थियो । गाउँलेले त्यसलाई रङ्गशाला निर्माण गर्न सक्रियता देखाए । सुरु–सुरुमा पालिका तथा प्रदेश सरकारबाट बजेट पनि पर्यो । अहिले कुनै पनि निकायबाट बजेटको व्यवस्था हुन सकेको छैन । ‘तमान रङ्गशाला’ निर्माण थालेको आधा दशक भयो । अहिलेसम्म रङ्गशाला निर्माणले पूर्णता पाउन सकेको छैन ।

तमानखोला गाउँपालिका–३ तमानगाउँमा निर्माणाधीन ‘तमान रङ्गशाला’ को कार्य प्रगति ५० प्रतिशतभन्दा माथि जान सकेको छैन । गाउँपालिकाले खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि रङ्गशाला निर्माण अगाडि सारे पनि यस वर्ष बजेट शून्य छ । पहिले विद्यार्थीहरु खेल्ने साँघुरो चौरलाई स्थानीयवासीको सक्रियतामा सम्याएर खेल मैदानको स्वरुपमा ल्याएको स्थानीय भेषबहादुर पुनले बताए । 

उनले पहिले यो ठाउँ जलमग्न रहेको र यसलाई गाउँलेहरुले जनश्रमदान गरेर खेल मैदानका रुपमा विकास गरेको बताए । पुन भन्छन्, “यो ठाउँमा पानी जम्थ्यो, पछि यसलाई हामीले सम्याएर सानो मैदान बनाएका थियौँ, अहिले डोजर लगाएर यति ठूलो भयो, राम्रो पनि भयो, अब त केटाकेटीहरु पनि रमाएर खेल्न पाउनेछन्, कतै लोट्ला भन्ने डर पनि भएन, मेला महोत्सव गर्दा पनि सजिलो हुने भयो ।”

लामो समयदेखि खेलमैदानका लागि जनश्रमदान गरेको भन्दै आफूहरुले गरेको दुःल्खको प्रतिफल बिस्तारै यहाँका युवा तथा खेलाडीहरुले पाउने अपेक्षा लिएको उनले बताए । स्थानीयवासीको अधिक जनश्रमदान र गाउँपालिका, प्रदेश सरकार तथा केन्द्र सरकारसँगको सहकार्यमा रङ्गशाला निर्माण हुने आश्वासन पाएको उनको भनाइ छ ।

स्थानीय भीमबहादुर मगरले गाउँपालिकाले रङ्गशाला निर्माण गर्न थालेपछि बालबालिका र खेलाडीलाई खेल खेल्न सजिलो हुने बताए । धन गौ ज्योति माध्यमिक विद्यालय नजिकै रहेको रङ्गशाला गाउँको केन्द्रमा रहेको हुँदा यसले सिङ्गो तमानखोलाकै गौरव बढाउने बुढामगरको भनाइ छ । उनले रङ्गशाला निर्माणपछि दुर्गम गाउँमा पनि राष्ट्रिय स्तरको खेल आयोजना गर्न सकिने बताए ।

“यो गाउँमा खेलेर हुर्केका खेलाडी अहिले राष्ट्रिय स्तरमै नाम कमाउन सफल भएका छन्, उनीहरुले उतिबेला राम्रो खेलमैदानमा खेल्ने अवसर पाएनन्, खेल क्षेत्रमा राज्यको लगानी पनि खासै भएको थिएन, अहिले यस्तो विकट गाउँमा पनि रङ्गशाला बन्नु हाम्रो लागि गौरवको कुरा हो”, उनले भने ।

उनले खेलमैदान अभावका कारण यहाँबाट धेरै खेलाडी राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा भाग लिन नसकेको भन्दै रङ्गशाला निर्माणपछि तमानखोलालगायत सिङ्गो बागलुङका खेलाडीलाई ठूलो अवसर प्राप्त हुने बताए ।

खेल क्षेत्रबाट पनि तमानखोलालाई समृद्धितर्फ लैजान सकिने हुँदा रङ्गशाला निर्माणलाई जोड दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । उनले स्थानीयले निर्माण गरेको सानो खेलमैदानलाई रङ्गशालामा रुपान्तरण गर्न थालेको केही समयमै आधा काम पूरा भइसकेको भन्दै प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम पूरा गर्ने बताए ।

“यो रङ्गशाला गाउँपालिकाको गौरवको योजनाअन्तर्गत पर्छ, यहाँ स्थानीयले धेरै समय जनश्रमदान गरेर यति ठूलो मैदान बनेको छ, पहिले सानो–सानो मैदान थियो, यसलाई बढाएर यति ठूलो बनाउने काम स्थानीयहरुबाट भएको हो”, अध्यक्ष बुढा मगरले भने, “गाउँपालिकाले पनि केही बजेट विनियोजन गरेर अहिले सम्याउने काम भएको छ, यसमा अझ धेरै काम गर्नु बाँकी छ ।”

अध्यक्ष बुढा मगरले रङ्गशाला निर्माण गर्न अहिलेसम्म गाउँपालिका र गण्डकी प्रदेश सरकारको रु. ६० लाख खर्च भइसकेको जानकारी दिए । तीन वर्षअगाडि गाउँपालिकाले रु दुई करोडको गुरुयोजना तयार गरेको उहाँको भनाइ छ । गाउँपालिकासँग पर्याप्त बजेट नभएको भन्दै सङ्घ र प्रदेशसँग सहकार्य गरेर पूरा गर्ने अध्यक्ष बुढामगरले बताए । रङ्गशालामा प्याराफिट निर्माण, घेराबार र सम्याउने काम पूरा हुन सकेको छैन । 

“ग्रामीण क्षेत्रमा रङ्गशाला निर्माण गर्नु सजिलो काम होइन, यद्यपि हामी लाग्यौँ, आधा बढी काम पनि सक्यौँ, एक करोडको डिपिआर गरेका थियौँ, अझै ५० लाख बढी खर्च हुने अनुमान छ, प्रदेश तथा सङ्घीय सरकारबाट बजेट ल्याएर सम्पन्न गर्ने लक्ष्य छ”, उनले भने, “यो बजेट गाउँपालिकाले मात्रै विनियोजन गर्न सक्ने अवस्था छैन, त्यसले गर्दा प्रदेश र केन्द्रमा पनि हामीले प्रस्ताव पठाएका छौँ, माथिल्लो निकायबाट सहयोग भयो भने केही समयमै यसको निर्माण सम्पन्न हुनेछ ।”

रङ्गशाला निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारबाट विनियोजित रु. ६० लाखभन्दा बढी खर्च गरी सकेको र स्थानीयले रु एक करोडभन्दा बढीको जनश्रमदान गरेको अध्यक्ष बुढामगरको भनाइ छ । तमान गाउँसम्म मोटरबाटो जोडिसकेको हुँदा जिल्लाका विभिन्न स्थानबाट समेत खेल खेल्नका लागि तमान गाउँमा पुग्ने सम्भावनमा बढी छ । 

म्याग्दीसँग सिमाना र सडक सञ्जालले जोडिएको हुँदा म्याग्दीबाट समेत खेलाडी आउने सम्भावना बढी रहेको उनको भनाइ छ । यस ठाउँमा अहिले पनि कुनै मेला महोत्सव लाग्दा म्याग्दीबाट बढी नागरिक आउने गरेको पाइन्छ । त्यस्तै पर्यटकीय क्षेत्र सोले डाँडा पनि नजिकै रहेको हुँदा खेलसँगै पर्यटनसमेत जोडिने उनको भनाइ छ । पालिकाले गाउँलाई पर्यटकीय गन्तव्य बनाइरहेको भन्दै रङ्गशालाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अध्यक्ष बुढामगरको भनाइ छ ।

Logo