‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनमा तीव्रता

‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनमा तीव्रता

केन्द्रबिन्दु
0
Shares

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिएको छ । महिलालाई घरभित्रदेखि समाज हुँदै राजनैतिक दल र राज्य सत्तासम्म पहिला बनाउने अभियान ‘महिला पहिला’ कार्यक्रमको प्रभावकारी कार्यान्वयका निम्ति मन्त्रालयले ६० पालिकामा बजेटको व्यवस्था गरेको छ । कार्यक्रममा महिला हिंसा न्यूनीकरण गर्ने अभियानको व्यवस्था गरिएको छ भने महिलालाई तलैदेखि नेतृत्व क्षमताको अभिवृद्धि गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।  

मन्त्रालयले महिला सुरक्षा सेवा कार्यक्रमअन्तर्गत रातिको समयमा महिला एक्लै हिँड्नु परेमा प्रहरीको सहयोगमा कल सेन्टरको व्यवस्था गरी महिलाले फोन गर्ने बित्तिकै घरमा गाडी लिन जाने र गन्तव्यमा पुगेर पुनः घरसम्म पठाउने व्यवस्था रहेको छ । मन्त्री उमा रेग्मीले मन्त्रालयको जिम्मेवारी लिएपछि १४ महिनाको अवधिमा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला एक सय ३२ जनाको उद्धार गरिएको छ । मन्त्रालयले  ‘घरैबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको अभियानसमेत सञ्चालन गरेको छ ।  

त्यसैगरी मन्त्रालयले बालबालिकासम्बन्धी नीति, बालबालिका नीति २०७९, बालबालिकासम्बन्धी नियमावली २०७८ र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सिआरसीको छैटौँ सातौँ आवधिक प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी राष्ट्रिय बाल अधिकार परिषद्को पाँच वर्षीय रणनीतिक योजना ल्याइएको छ । बाल अधिकार संरक्षण संवद्र्धन तथा प्रवद्र्धनसम्बन्धी एकीकृत कार्यावधि २०७९ तयार गरिएको छ । 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई पहिलो संशोधन गर्न बनेको ऐन २०७९ संसद्बाट पास भइसकेको छ । सो ऐन अनुसारको नियमावली मन्त्रालयमा अन्तिम चरणमा पुगेको मन्त्री रेग्मीले जानकारी दिए । आफ्नो कार्यकालमा स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गरिएको मन्त्री रेग्मीको भनाइ छ । ज्येष्ठ नागरिकका सन्तानले कुनै पनि किसिमले गरेको आम्दानीका कारणले तोके बमोजिमको रकम ज्येष्ठ नागरिकको बैंक खातामा मासिक रूपमा दाखिला गर्नुपर्ने प्रावधानको व्यवस्थासमेत गरिएको छ । 

मन्त्रालयले सहाराविहीन ३१ अपाङ्गता भएका व्यक्तिलाई पुनः स्थापना केन्द्रमा संरक्षण गर्ने व्यवस्था मिलाएको छ । मन्त्री रेग्मीका अनुसार अपाङ्गता  भएका व्यक्तिहरूका लागि हेरचाह गर्ने व्यक्तिको तालिमका लागि बजेटको व्यवस्था गरिएको छ ।

Logo