अवैध उत्खननमा प्रयोग भएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध उत्खननमा प्रयोग भएका २ जेसीबी र ९ टिपर प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

सर्लाही प्रहरीले अवैध उत्खननमा प्रयोग गरिएका २ जेसीबी र ९ वटा टिपर नियन्त्रणमा लिएको छ।

सर्लाहीको हरिवन र लालबन्दीको सीमा भएर बग्ने लखन्देही खोलाबाट शुक्रबार साँझ ती जेसीबी र टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। खोलामा मनपरी ढंगले गिटी–बालुवा उत्खनन भइरहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले जेसीबी र टिपर नियन्त्रणमा लिएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लखन्देही पुलदेखि झण्डै १ किलोमिटर उत्तरबाट मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपर चालकसहित नियन्त्रणमा लिइएको यादवले बताए।

प्रहरीले ना. ७ ख २६६५, ना. ७ ख ८९२१, ना. ७ ख ५९९५, ना. ७ ख ५४५६, ना. ७ ख ६४३९, ना. ७ ख २९८५, ना. ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्बरका टिपर र जेसीबी प्रहरीले नियन्त्रणमा लिएको हो। लखन्देही खोला ठेक्का लागे पनि मापदण्डविपरीत निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन भएपछि नियन्त्रणको प्रयास गरिएको प्रहरीले जनाएको छ। टिपर, जेसीबी र त्यसका चालकलाई नवलपुरस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, सर्लाही प्रहरीले अवैध रुपमा सञ्चालित आठवटा क्रसर उद्योग पनि बन्द गरिएको जनाएको छ।

Logo