धनकुटाको सिँधुवा बजारमा आगलागीबाट ४९ लाख बराबरको क्षति

धनकुटाको सिँधुवा बजारमा आगलागीबाट ४९ लाख बराबरको क्षति

केन्द्रबिन्दु
0
Shares

धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर–६ सिँधुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट दुई घरमा पूर्ण तथा ४ वटा घरमा आंशिक क्षति भएको छ । सन्तोष राईको घरसहित २ तोला सुन, नगद २ लाख, झमक थापाको घर तथा २ तोला सुन, नगद ७० हजार, अर्जुन घिमिरेको घरको माथिल्लो तल्लामा रहेको होटल, डम्बर थापाको घरसहित ५० हजार बराबरको काठ, डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त पक्की घरसहित अत्यावश्यक सरसामान जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबिच, आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए। पीडितलाई जनही नगद १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए।

शुक्रबार बेलुका ७ बजेतिर सल्किएको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा राति नै निभाइएको थियो । आगो ताप्न बालिएको कोइलाबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Logo