सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३, गढीगेटनजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार गए राति १२ः३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डीडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

कारमा पाँचजना सवार थिए । मृतक चारैजना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरू तीनको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।

राजमार्गको भीर भएको स्थानमा कार सडकबाट ५०० मिटर तल खसेको थियो । भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।

“त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ,” उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचैजनाको परिचय खुल्न सकेको छैन ।

Logo