‘डीएभी’ले छोरीको अपमान गर्‍यो-पढेर गरीखान सक्दिन, बरु स्कुटी किन्दिनू, पठाओ चलाउँछे’

‘डीएभी’ले छोरीको अपमान गर्‍यो-पढेर गरीखान सक्दिन, बरु स्कुटी किन्दिनू, पठाओ चलाउँछे’

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समयमा चलचित्र निर्देशकका रूपमा चिनिएका उपेन्द्र सुब्बाले आफ्नी छोरीप्रति सुशील केडिया विश्व भारती स्कुल (डिएभी)का भाइस प्रिन्सिपलले गरेको व्यवहारप्रति गुनासो पोखेका छन् ।

उनले गएको साँझ सामाजिक सञ्जालमार्फत जोशी थरका भाइस प्रिन्सिपलले गरेको व्यवहारप्रति गुनासो पोखेका हुन् । आफ्नी छोरी जावलाखेलस्थित डिएभीको नौ कक्षामा पढ्ने जानकारी दिँदै सुब्बाले पढाइमा अन्य विद्यार्थीभन्दा कमजोर भएर फेल भएकोमा निहुँमा ती भाइस प्रिन्सिपलले हेपेको बताएका छन् ।

पढाइमा फेल भएकी आफ्नी छोरीको नतिजा लिन गएका सुब्बाकी श्रीमती र छोरीलाई ती भाइस प्रिसन्सिपलले गिज्याएको सुब्बाले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

‘भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ– यसको बुवा खै, किन नआएको ? भनी सोधियो रे । नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन् । भाइस प्रिन्सिपलसहित अरु दुई जनाले गिज्याएर हाँस्दै होच्याएर, हेपेर-यो बच्चलाई हामी पढाउन सक्दैनौं, अन्त स्कुल लानू । यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्’ भनेछन् । पहिला पनि जोशी सरले ‘पढेर केही गरीखान सक्दिन, बरु एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छे भनेको भन्दै मकहाँ आएर आमाछोरी दुवै रोए,’ उनले लेखेका छन् ।

यस विषयका कारण आफूलाई रातभरि निद्रासमेत नलागेको सुब्बाले बताएका छन् ।साथै, रातभर छोरीको आँखाबाट बरर झरेको आँसु आफ्नो आँखाबाट नहटेको र स्कुलको गैरजिम्मेवारीपनले आफ्नी छोरी रुनु परेको उनको भनाइ छ ।

‘विद्यार्थी कमजोर हुनुमा आठ–नौ वर्षदेखि पढाउने स्कुलको पनि दोष हो कि विद्यार्थीको मात्रै ?,’ उनले प्रश्न गरेका छन्, ‘एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ ।’

त्यसपछि आफूले भोलिपल्ट विद्यालय गएर आफ्नी छोरीलाई जस्तो व्यवहार अरुलाई नगर्नू भनेर छोरीको ट्रान्सफर मागेको खुलासा पनि सुब्बाले गरेका छन् ।

‘मेरी छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नू । हरेक बच्चा क्षमतावान हुन्छन् । एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन् । बच्चाहरूलाई हतोत्साह नगर्नू । बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नू, आर्थिक रुपमा गरिब परिवारकै किन नहोस्,’ फर्किदै गर्दा शिक्षकलाई आफैले सम्झाएको उनले बताएका छन् ।

सुब्बाले आफ्नी छोरीलाई गायन, पेन्टिङ, नृत्य, अभिनयमा रुची रहेको खुलासा गरेका छन् । छोरीले फिक्सन पढ्न पनि रुचि राख्ने गरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘अब उनी छोरीलाई पढाउने अर्काे स्कुलको खोजीमा छु । लाग्ने शुल्क म नियमित तिर्नेछु ।’

 

Logo