डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगले उम्मेदवारको आवेदन डाटा हराएपछि पुनः दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर पुनः दरखास्तको आव्हान गरेको हो ।

आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) मा गएको फागुन २३ गते समस्या आएको थियो । डाटा रिकभरीको प्रयास भैरहेको तर यो प्रकृया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने भन्नेबारे यकिन नहुँदा आयोगले पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाएका उम्मेदवारबाट पुनः दरखास्त माग गरेको हो ।

सम्बन्धित उम्मेदवारले जेठ १८ गतेभित्र पुनःदरखास्त विवरण पेश गर्नुपर्नेछ । दरखास्त दस्तुर नलाग्ने पनि आयोगले जनाएको छ । आयोगले अनलाइन प्रणालीमा पुनःदरखास्त मेनु राखेको छ । यसमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको त्यहि नै आवेदन गर्नुपर्नेछ ।

आयोगका अनुसार २०७९ साल मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरण समस्या देखिएपछि पुनः दरखास्तका लागि आह्वान गरिएको छ ।

Logo