महानगरले डोजर चलाएको अनामनगरमा अब फूलबारी बनाइने

महानगरले डोजर चलाएको अनामनगरमा अब फूलबारी बनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित क्वानमुकान कराँतेको भवन भत्काएको छ । 

हनुमानस्थानस्थित २९ नम्बर वडामा रहेको उक्त घरमा बर्षौदेखि क्वानमुकान कराँतेको डोजो रहँदै आएकोमा सोमबार दिउँसो महानगरपालिकाले वडाको जनप्रतिनिधि सहितको उपस्थितिमा उक्त घर भत्काएको हो । 

२४ वर्षदेखि क्वानमुकानले निःशुल्क प्रयोग गर्दै आएको उक्त अनधिकृत भवन भत्काएर फूलबारी बनाउन लागिएको महानगरले जनाएको छ ।

आज महानगरपालिकाको निर्णय अनुसार अनधिकृत संरचनाको रुपमा सरकारी जग्गा मिचेर बनाएको भवन भत्काएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ‘यो सिंहदरबार भित्रकै सार्वजनिक जग्गा अतिक्र्रमण भएको छ, बाटो र पेटी साँघुरो छ । यसै कुरालाई मध्यनजर गरेर महानगरको निर्णय अनुसार भत्काउन लागेको हो ।’ पाण्डेले भने । 

पहिला सिंहदरबारको पर्खाल भित्र रहेको उक्त भवन हाल रोड पारी परेको छ । २०५६ सालमा तत्कालिन वडा अध्यक्षले उक्त घर कराँते एशोसिएसनलाई संरक्षित र उपभोग गर्ने तथा वडाले चाहेको खण्डमा प्रयोग गर्न मिल्ने अधिकार सहित निशुल्क प्रयोग गर्न दिएको बताइएको छ । 

अब त्यहाँ बाटो बढाएर पार्क निर्माण गर्ने योजना रहेको वडा सदस्य सन्तोष ढुंगेलले बताए । उनले भने, ‘अहिले यहाँ बाटो पनि साँघुरो भयो अनधिकृत संरचना पनि भएको हुनाले काठमाडौं महानगरपालिकाको मेयर स्तरीय जुन निर्णय भएको छ,त्यसलाई कार्यान्वयन गर्नको लागि आज भत्काउन लागेको हो । आजै भत्काएर सकिन्छ त्यसपछि वडाको निर्णय अनुसार सानो फूलबारी वा पार्क केही बनाउने योजना छ ।’

Logo