प्रहरी कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

प्रहरी कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने क्रममा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।

उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डा हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसहितको आरोहण दललाई बिदाइ गरेका थिए। टोली २०८० वैशाख २ गते काठमाडौँबाट आरोहणका लागि प्रस्थान गरेको थियो ।

पहिलो पटक विसं २०३१ मा नेपाल प्रहरीको नौ सदस्यीय टोलीले छ हजार नौ सय २० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले छ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाइ अभियान तथा विभिन्न हिमाल आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवं साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको अपराधिक क्रियाकलापविरुद्ध ऐक्यबद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

Logo