मन्त्री निवास भवनको निर्माण कार्य चाँडै पूरा गर्न मन्त्री गुरूङको निर्देशन

मन्त्री निवास भवनको निर्माण कार्य चाँडै पूरा गर्न मन्त्री गुरूङको निर्देशन

केन्द्रबिन्दु
0
Shares

शहरी विकासमन्त्री सीता गुरूङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य चाँडो पूरा गर्न निर्देशन दिएकी छन् । 

शनिबार आयोजनास्थलको निरीक्षण गर्दै भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरूङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य पूरा गर्न निर्देशन दिएकी हुन् । 

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो । तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन नसक्दा भवन निर्माणका लागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ ।

मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मानसिकताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई चेतावनी पनि दिइन् । 

उनले भनिन, ‘बेलामा काम सक्यो भने तपाईहरूलाई पनि ढुक्क हुन्छ । सरकारको पनि एउटा योजना पूरा हुन्छ । बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्,  तर सम्झौताबमोजिम यथासक्य काम सम्पन्न गर्नुहोस् ।’  

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ । 

कार्यालयका उपनिर्देशक दिपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिए । 

मन्त्री गुरूङसहित शहरी विकास मन्त्रालयका सचिव रबीन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजनका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेको थियो । 

निरीक्षणको क्रममा मन्त्री गुरूङले भवन निर्माण क्षेत्र वरपरका स्थानीयवासीहरूसँग समेत छलफल गरेकी थिइन् । स्थानीयवासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका छन् । मन्त्री गुरूङले स्थानीयबासीका माग सुनेपछि ती मागहरूका बारेमा आवश्यक समन्वय गरेर काम अघि बढाउने आश्वासन दिएकी छिन् । 

Logo