तातोपानीको नयाँ मुहान भेटियो

तातोपानीको नयाँ मुहान भेटियो

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ ।कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान भेटिएको हो ।

बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेंसीका गमबहादुर राम्जालीले बताए ।

‘बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो,’ उनले भने, ‘१ पटकमा ३–४ जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छौं ।’

जमिन भित्रबाट करीब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा बेंसी र बेनी–जोमसोम सडकको भिरकाटे खण्डको पारिपट्टि रहेको छ । दोवाका वासिन्दा सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् । 

तातोपानी स्नान गर्न आएकी दोवाकी ६७ वर्षीया लालमाया पुर्जाले पानीमा वीरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बताइन् । ‘सानो हुँदा यहाँको तातोपानीको पोखरीमा डुबेको याद छ । पछि मुहान पुरिएको थियो,’ उनले भनिन्, ‘५५–६० वर्षपछि फेरि मुहान भेटिएकाले नुहाउन आएको हो ।’

दोवा, सुनारी, कटुञ्जेका वासिन्दा त्यसबेला यहाँको तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ गर्दथे। तातोपानीको पोखरीमा स्नान गरेमा चोट–पटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिक लगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

अहिले भेटिएको तातोपानी जमिनबाट माथि भुलभुल निक्लन्छ । तातोपानीको स्रोत मध्यम किसिमको छ। व्यवस्थित पोखरी बनाउन सकेमा २०–२५ जनासम्मले स्नान गर्न सक्छन्। 

अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले नयाँ भेटिएको तातोपानीको मुहान संरक्षण र व्यवस्थापनको तयारी गरिएको बताए । ‘तातोपानीको संरक्षण र व्यवस्थापनका लागि स्थानीयवासीले माग गरेका छन्,’ उनले भने, ‘अहिले भेटिएकोभन्दा केही माथि पनि अर्को मुहान भएको सूचना आएकाले सबैको एकैपटक अध्ययन र व्यवस्थित बनाउने तयारी गरेका छौं ।’

अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ, पाउद्वार, रातोपानीमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हँदै आएको छ । बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धौलागिरि गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रूपमा प्रयोग भएका छन् । 

Logo