अदालतभित्र बालकृष्ण खाणकाे तर्फबाट बहस जारी, बाहिर वकिलहरुविरुद्ध नाराबाजी [तस्विरमा]

अदालतभित्र बालकृष्ण खाणकाे तर्फबाट बहस जारी, बाहिर वकिलहरुविरुद्ध नाराबाजी [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । 

पहिलो दिन उनका तर्फबाट १० कानुन व्यवसायीले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 

उनका अनुसार मङ्गलबार पूर्वगृहमन्त्री खाणका तर्फबाट कानुन व्यवसायी शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पङ्कज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । आज सुरुमा वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस थालेका छन् । खाणका तर्फबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएकाले दुई दिन समय लागेको बताइएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी कानुन व्यवसायीको बहसपछि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले निरन्तर बहस गर्दै आएका छन् । जिल्ला न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भए पनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने सूचना अधिकारी दाहालले बताए । 

उनले भने “सबै प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस थाल्ने छन्, जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।”

भूटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । 

यसैबीच बुधबार शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध नाराबाजी भएको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव ’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जिल्ला अदालत, काठमाडौँ परिसरमा प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरु विरुद्ध नाराबाजी गरेको हो । साे क्रममा केही पक्राउ परेका छन् ।

Logo