राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरबाट अयोध्या जाने रेललाई भारतले दिएन अनुमति

राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरबाट अयोध्या जाने रेललाई भारतले दिएन अनुमति

केन्द्रबिन्दु
0
Shares

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ। भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो।

भाडादर तय गरी टिकट समेत काटिसकेको अवस्थामा अन्तिम समयमा अयोध्याबाट भारतीय सुरक्षा संयन्त्रले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएको हो। भारत सरकारले अयोध्यामा सोमबार हुने राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको छ। जुन सुरक्षा ७ घेरामा व्यवस्थापन गरिएको भारत सरकारले जनाएको छ।

तर, जनकपुरबाट जाने रेल नियमित स्टेसनभन्दा १५ किलोमिटर टाँढै रोकेर त्यहाँबाट बसमार्फत श्रद्धालुहरूलाई अयोध्या ल्याउने भारत सरकारको प्रस्तावमा सहमति नहुँदा रेल रद्द भएको हो। शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएका थिए।

त्यसपछि दिउँसैदेखि भाडादर तोकेर टिकट बुकिङ पनि खुला गरिएको थियो। भाडादर साधारणको १ हजार, एसी ३ को २ हजार र एस्सी २ को ३ हजार रुपैयाँ तय गरिएको थियो। रेल अयोध्यासम्म जाने भएपछि जनकपुरका यात्रुहरु उत्साहित भएका थिए।

उक्त रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो। तर, रेललाई अनुमति नदिएका कारण रेल अयोध्या जान नपाउने भएको हो। रेल जान नपाएपछि श्रद्धालुहरू निराश बनेका छन्।

Logo