श्रमदान गरेर बाँझो बगर करेसाबारी

श्रमदान गरेर बाँझो बगर करेसाबारी

केन्द्रबिन्दु
0
Shares

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन्।

मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए।

“कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो। झाडी फाँडेर खनजोत गरी करेसाबारी बनाएका हौँ”, उनले भने, “करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ।” शारीरिक व्यायाम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीमा आत्मनिर्भर बन्नका लागि सन्देश प्रवाह गराउन गत वैशाखमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले श्रमदान अभियान सुरु गरेका थिए।

अधिकृत पौडेलको अभियानमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र बाबियाचौरका बासिन्दाले साथ दिएका छन्। फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारी कुटो कोदालो हातमा लिएर करेसाबारीमा काम गरेको भेटिन्छन्।

बर्खायाममा सिमी, लौका खेती भएको थियो। हिउँदमा बन्दा र काउली उत्पादन हुन थालेको छ। प्याज, लसुन, धनियाँ र साग खेती गरिएको छ। कार्यालय समयबाहेकको साँझ, बिहानको फुर्सद, शनिबार र अन्य सार्वजनिक बिदाका दिन करेसाबारीमा श्रमदान गर्ने गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए।

करेसाबारीको डिलतर्फ घेराबार गर्न गाउँपालिकाले रु ३७ हजार खर्च गरेको छ। अन्य सबै काम श्रमदानबाट गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए। प्रत्येक शनिबार बिहान ७ देखि १० बजेसम्म श्रमदानका लागि सहभागी हुन आग्रह गरिएको छ।

उत्पादन भएको तरकारी जनप्रतिनिधि र कर्मचारीले उपभोग गर्दछन्। घरायसी उपभोगका लागि आफैँ तरकारी उत्पादन गर्नुपर्ने सन्देश दिन खोजिएको कृषि प्राविधिक बानियाले बताए। प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गरिएको हो। रोगकिरा नियन्त्रणका लागि पनि जैविक विषादीको प्रयोग गरिएको करेसाबारीलाई प्रदर्शनीस्थलको रूपमा विकास गर्ने योजना रहेको छ।

व्यावसायिक तरकारी खेतीबाट आयआर्जनका अलावा करेसाबारी बनाएर घरायसी उपभोगका लागि तरकारी खरिद घटाउन सकिन्छ। व्यायामका लागि करेसाबारीको काम गर्दा स्वस्थ र शारीरिक तन्दुरुस्त हुने अनुभव जनप्रतिनिधि र कर्मचारीले सुनाए।

Logo