सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति उद्यान

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति उद्यान

केन्द्रबिन्दु
0
Shares

झापा। बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ। स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन्।

आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो। कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो। सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताए।

पार्क बन्नुअघि त्यस स्थानमा भुटानी शरणार्थी शिविर रहेको थियो। शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि उक्त स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरकारले रु दुई करोड लगानी गरेको थियो।

बाइस बिघा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन महँगा मूल्यका पूर्वाधार संरचना निर्माण गरिएका थिए। सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्विमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो। आकर्षक प्रवेशद्वार र उद्यानसमेत बनाइएको थियो।

विसं २०२९ फागुन २१ गते झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा पञ्चायती सरकारबाट जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच सहिदमध्ये एक थिए नेत्र घिमिरे। सहिद नेत्र घिमिरेकै स्मृतिमा उक्त पार्क बनाइएको हो।

पूर्वाधार निर्माण गरे पनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेका छन्। बिर्तामोड–७ का जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थी पार्कको झाडी फाँड्ने र सरसफाइ कार्यमा जुटेका हुन्।

“राज्यको ठुलो लगानी खेर जाने अवस्थामा पुग्यो”, वडाध्यक्ष खरेलले भने, “यसको संरक्षण र संवर्द्धन गर्नु आम नगरवासीको दायित्व हो, अब सरसफाइ गरेर चाँडै पार्क सञ्चालनमा ल्याउँछौँ।” स्थानीयले आउँदो एक सातासम्म लगातार सरसफाइ गर्ने भएका छन्।

सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले शौचालय, खानेपानी र बिजुलीबत्ती उपलब्ध गराएर पार्कलाई पुनःजीवित गरिने बताए। उनले जङ्गली हात्ती डुलिरहने हात्ती कोरिडोरमा पार्क रहेको हुँदा सुरक्षा बन्दोबस्तका लागि पर्यटकीय अवलोकन क्षेत्रमा विद्युतीय घेराबेराको तयारी भइरहेको जानकारी दिए।

पार्कमा बालबालिकालाई खेल्नका लागि पिङ, चिप्लेटीलगायतका प्लास्टिकका संरचना बनाइएका थिए भने डाइनोसरलगायतका फाइवरका ठुला प्रतिमा स्थापना गरिएका थिए। जगेर्ना नहुँदा लाखौँ खर्चेर किनिएको डाइनोसरको मूर्ति क्षतिग्रस्त छ। पोखरी र पार्क क्षेत्र झाडीले छोपिएको छ।

Logo