सन्दीप प्रकरणः ‘असमान हैसियत’ देखाएकाे अदालतको फैसलाको पूर्णपाठमा के-के छ ?

सन्दीप प्रकरणः ‘असमान हैसियत’ देखाएकाे अदालतको फैसलाको पूर्णपाठमा के-के छ ?

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस २५ गते उनलाई ८ वर्ष कैदको सजाय सुनाएका थिए। गौशाला २६ लाई बालिग ठहर गरेको अदालतले उनलाई दोषी ठहर गर्न सन्दीपले आफूले खेलाडीको रुपमा प्राप्त गरेको स्टारडमको दुरुपयोग गरेको र युवतीलाई आर्थिक रुपमा प्रभावित पारेको भनेको थियो। जिल्लाले यही कुरालाई विस्तृत व्याख्या गर्दे पूर्णपाठ सार्वजनिक गरेको हो।

पूर्णपाठअनुसार सन्दीपले गौशाला– २६ माथि बलात्कार गरेको निष्कर्षमा पुग्ने दुई वटा आधार दिएको छ, पहिलो ‘पीडित’ को बयान र दोस्रो उनीहरु दुईबीचको असमान हैसियत । अदालतले जाहेरीकर्ताको बयानलाई नै बलात्कारको सबैभन्दा ठूलो प्रमाण मानेको छ । आर्थिक–सामाजिक हैसियत समान नभएका महिला र पुरुषबीच सहमतिमा करणी हुन नसक्ने दलिलसमेत गरिएको छ ।

फैसलामा छ, ‘पीडितको उमेर, निजको पारिवारिक तथा आर्थिक अवस्थासमेत र प्रतिवादीको शारीरिक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत हेर्दा यी दुईबीचमा समानता रहेको भन्ने देखिँदैन । पीडित आर्थिक अवस्थासमेतका कारणबाट निज सहज रूपमा दुरुपयोग हुने अवस्थाको देखिन्छिन् । …पीडितले जबर्जस्ती गरेको भनी भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीको कार्यलाई मन्जुरीमा भएको भन्न मिल्ने देखिएन ।’

असमान शक्ति सम्बन्धमा रही कमजोर व्यक्तिहरू अर्को व्यक्तिप्रति सहजै विश्वासमा पर्ने गरेको, आभारी हुने गरेको तथा आश्रित हुने गरेकाले दुरुपयोगको जोखिममा हुने फैसलामा छ । ‘यस्ता निर्बल व्यक्तिहरूलाई अर्को पक्षले सहज रूपमा दुरुपयोग गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरू यौन जोखिममा रहेका हुन्छन् । यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मन्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट पनि हेरिनुपर्ने हुन्छ,’ फैसलामा छ ।

अदालतले सन्दीपले गौशालालाई करणी गर्ने नियतले नै होटलमा लगेको अनुमान लगाएको छ । पीडितले आफ्नो साथीलाई ‘सन्दीपले साथीको घरमा छोडिसक्यो म सुरक्षित छु’ भनेर म्यासेज लेखेको कुरालाई सहमति मान्न नमिल्ने पूर्णपाठमा उल्लेख छ । दिनभर नगरकोट घुमेको र बेलुका सिनामंगलस्थित होटल काठमाडौं इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ। ‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो,’ फैसलामा भनिएको छ, ‘प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ। पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिँदैन।’

हेर्नुहाेस्, फैसलाको पूर्णपाठ-

sandip-lamichan-1706603036.pdf

Logo