लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण प्रतिवेदन हस्तान्तरण

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण प्रतिवेदन हस्तान्तरण

केन्द्रबिन्दु
266
Shares

विराटनगर । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७९–८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपछि प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो ।

उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले महानगरका मेयर नागेश कोइरालालाई प्रतिवेदन हस्तान्तरण गरे ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–०७८ अनुसार समावेशीकरणको स्थिति स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार महानगरले आफ्नो परीक्षण प्रतिवेदन तयार पारेको हो । सयवटा सूचकहरुमा आधारित रहेर परीक्षण प्रतिवेदन तयार पारिएको उपाध्यायले बताए ।

तीमध्ये सय पूर्णांकमा ७४ दशमलव ५ अंक प्राप्त गर्न विराटनगर महानगर सफल भएको जनाइएको छ । अघिल्लो आर्थिक वर्ष ७० दशमलव ५ अंक थियो । समावेशीकरणको स्थितिमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नीति, कानुन तथा योजना, संस्थागत व्यवस्था, मानव संशाधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मुख्य विषय रहेको समावेशीकरण परीक्षणमा २२ वटा सहायक विषय र एक सयवटा सूचकमा केन्द्रित रहेर परीक्षण गरिएको थियो ।

यसका लागि गत पुस २५ र २९ गते दुईवटा लैससास परीक्षण कार्यशालासमेत सञ्चालन गरिएको थियो । कार्यशालामा सरोकारवाला सबैको सहभागिता रहेको थियो । कार्यशालामा सहभागीहरुले सयवटा सूचकमा अंक प्रदान गरेका थिए ।

प्रतिवेदन बुझ्दै मेयर कोइरालाले लैससास परीक्षण प्रतिवेदनले उठाएका सवालहरुलाई सम्बोधन गर्दै महानगरपालिकालाई कसरी सर्वोत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैलाई पहल र प्रयास गर्न आग्रह गरे ।

उपमेयर कार्कीले परीक्षण प्रतिवेदन गहन अध्ययन र सरोकारवालाहरुको सहभागिताबाट तयार पारिएको बताइन् । प्रतिवेदनले महानगरको लैससासको पछिल्लो अवस्था के थियो भन्ने प्रस्ट भएको कार्कीको भनाइ थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा ९ का अध्यक्ष विश्वनाथ भगत, कार्यपालिका सदस्य सरिता घिमिरे, खुश्बु विश्वकर्मा, महानगरका सामान्य प्रशासन प्रमुख अर्जुन थपलिया, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनी, कानुन शाखा प्रमुख शारदा थपलिया, सूचना अधिकारी अनिता कोइराला लगायतको उपस्थिति थियो ।

Logo