काठमाडौं महानगरका नगर प्रहरी जवानहरुको आधारभूत तालिम सुरु

काठमाडौं महानगरका नगर प्रहरी जवानहरुको आधारभूत तालिम सुरु

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह गरेका छन् ।

आजदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ गर्दै उनले प्रशासन विभाग र महानगर प्रहरी बलका अधिकारीलाई तालिमको मूल्याङ्कन र यसका सूचक प्रयोगका बारेमा आग्रह गरेका हुन् ।

‘महानगरपालिकालाई आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुन्छ, यसकारण महानगरको छवि, फिल्डमा खटिने नगर प्रहरीको काँधमा पनि छ,’ उनले भने, ‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ ।’

प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार करार सेवामा नगर प्रहरी जवान नियुक्तिका लागि गएको असार २० गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको हो । आवेदक माग गर्दा निवेदनसहित प्रवेश पत्रको प्रतिलिपि पनि मागिएको थियो ।

नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइन्छ । यस अघि शारीरिक तालिम प्रदान गरिसकिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ ।

हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड्युटीमा खटाइनेछ ।

Logo