महासङ्घको अधिवेशन विधानबमोजिम गर्नुपर्ने प्रेस सेन्टर नेपालको माग

महासङ्घको अधिवेशन विधानबमोजिम गर्नुपर्ने प्रेस सेन्टर नेपालको माग

केन्द्रबिन्दु
56
Shares

काठमाडौं: प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ ।

पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको अधिवेशनका विषयमा विभिन्न कोणबाट विषयहरू आइरहेका सन्दर्भमा प्रेस सेन्टर नेपालले सो माग गरेको हो । प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरे। बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकासँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताए। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार मिडिया मैत्री रहेको र सञ्चार कानुनहरू निर्माणमा लागिरहेको बताए ।

उनले कानुन निर्माणमा र नीति कार्यक्रममा रचनात्मक सुझाव–सल्लाह दिन प्रेस सेन्टरसँग आग्रह गरे । उनले आमसञ्चार विधेयकमार्फत सञ्चार क्षेत्रमा पुनःर्सरचना गर्न लागिएको उल्लेख गरे। बैठकमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग सचिव गोविन्द आचार्यले सङ्गठनको भावि योजना र नेपाल पत्रकार महासङ्घलगायत साझा सञ्चार संस्थाहरूमा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए ।

बैठकले सङ्गठन विस्तार र सुदृढीकरणसहित स्वरोजगार मिडिया, समानुपातिक विज्ञापन नीति कार्यान्वयन तथा सङ्गठनको आन्तरिक पक्षमा महत्वपूर्ण निर्णय लिएको महासचिव सन्तोष पौडेलले जानकारी दिए।

Logo