मेयर बालेन लागे ब्राजिलतिर

मेयर बालेन लागे ब्राजिलतिर

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेन मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल उडेका छन्।

असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन मेयर बालेन सोमबार बिहान २:१५ बजेको उडानबाट ब्राजिल उडेका हुन्। बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ। बालेनको साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्सालपनि रहेका छन्।

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्यसमेत हुन्। मेट्रोपोलिस विश्वका ठूला महानगरहरुका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो।

मेयर बालेनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका हुन्।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ। सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ। बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन्।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधवार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन्।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित रहेर नीति बहस हुनेछ।

नीति बहसले विश्वभरिका प्रमुख सहरहरूका प्रमुख सरोकारवाला, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तर्दृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ।

Logo