आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरूद्धको दिवस

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरूद्धको दिवस

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । आज जुन २६ तारिख अथार्त अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ।

यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाउन लागिएको हो। यो दिवस मनाउनुको एउटा मात्र उद्धेश्य भनेको विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गराउनु हो।

आज नेपाल प्रहरीले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध जनचेतना जगाउन सचेतनामूलक र्याली निकाल्दै छ। साथै, प्रहरीले वर्षभरी नेपालका भएका घटनाको विवरण समेत सार्वजनिक गर्दै छ। यस्तै, सरोकारवाला अन्य निकायले समेत सचेतनामूलक विषयमा छलफल कार्यक्रम आयोजना गर्दै छन्।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ।

विश्वमा अधिकांश लागू औषधका प्रयोगकर्ता र कारोबारी यूवा वर्ग नै रहेका छन्।

किनभने युवाहरु लागूऔषधको प्रयोगमा लागे भने उनीहरूलाई कुलतबाट छुटकरा दिलाउन अत्यन्त कठिन र जोखिमपूर्ण हुने गरेको मनोविज्ञले धारणा राखेका छन्।

विश्वमा पछिल्लो एक शताब्दीबाट लागू औषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ। लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ।

सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलले गरेको संयूक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागू औषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो। त्यसको दुई दशक बढी समय बितिसक्दा उक्त संख्या दोब्बरभन्दा धेरै भएको अनुमान छ।

खुल्ला सिमानाका कारण नेपालका सिमा क्षेत्रसँग जोडिएका जिल्ला लागूऔषधको कारोबारबार गर्ने सुरक्षित स्थल जस्तै बन्दै गैइरहेको पाइन्छ भने सीमा नाकाबाट दैनिक लागू औषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भइरहन्छन्। यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका शिकार हुने गर्दछन् भने उनीहरू विभिन्न अपराधीक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ। अर्कातिर समाजमा अपराधीक गतिविधि बढ्दै गइरहेको पाइन्छ। नेपालमा पनि सन् १९६० पछि लागू औषधको कारोबार र प्रयोग बढ्दै गइरहेको पाइन्छ।

नेपालका विभिन्न शहरमा स्थापना गरिएका सुधार केन्द्र र नेपाल प्रहरीको समाचार बुलेटिनले पनि धेरै हदसम्म उक्त कुराको पुष्टि हुन्छ।

तसर्थ यो समस्या न्यूनिकरण गर्न तीनै तहका सरकार, परिवार, समुदाय र सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ।

Logo