लागू औषध दुर्व्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔँ: मन्त्री श्रेष्ठ

लागू औषध दुर्व्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔँ: मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले लागु औषध दुर्व्यसनीको समस्या राष्ट्रिय बेथिति भएकाले सबै राजनीतिक दलले मिलेर दुर्व्यसनीको विषयलाई राजनीतिक मुद्दा बनाएर कार्य गर्नुपर्ने बताएका छन्।

बुधबार बिहान काठमाडौंमा लागू औषध दूरुपयोग तथा अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर गृह मन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रमा मन्त्री श्रेष्ठले लागू औषध दुर्व्यसनीको समस्या देशैभर फैलिएको उल्लेख गर्दै यसलाई सबै राजनितक दलले आफ्नो जिम्मेवारी सम्झिएर मुद्दा बनाउनुपर्ने बताए।

उनले भने, ‘मैले मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेशमा जाँदा खेरी बोर्डर एरियामा मात्र लागु औषधको समस्या भन्ठानेको थिए। जुम्लामा समेत लागु औषधको यस्तो विकराल समस्या भैसकेको रहेछ। यो राष्ट्रिय रोग हो। यस्ता बेथिति हाम्रा मुद्दाहरु हुन सबै एक भएर लड्नुपर्छ।’

यस्तै उनले यो मुद्दामा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए। मन्त्री श्रेष्ठले प्रतिपक्षी दललाई समेत दुर्व्यसनीको विषयलाई राजनीतिक मुद्दा बनाउन आग्रह गरे।

लागु पदार्थको दुव्र्यसनीबाट युवालाई मुक्त गराउन सामाजिक चेतनाको कुरा पेचिलो बनेको उल्लेख गर्दै श्रेष्ठले तीन चरणमा दुर्व्यसनीविरुद्ध काम गर्नुपर्नेमा जोड दिएका छन्। लागु औषध दुर्व्यसनी पूर्वको चरण, दुर्व्यसनीको चरण र दुर्व्यसनीमा फसिसकेपछिको चरण गरी तीन चरणमा कार्य गरी समाजबाट दुर्व्यसनी निर्मुल पार्न लाग्नुपर्नेमा जोड दिए।

उनले कुनै पनि देशलाई कमजोर बनाउनु पर्छ भने त्यो देशको युवा शक्तिलाई लागु औषधको दुव्र्यसनिमा लगाइदिनुपर्छ भन्ने उक्तिको स्मरण गराउँदै युवा तथा बालबालिकालाई दुर्व्यसनी वा कुलतमा फस्नबाट जोगिन आग्रह गरे। एउटा व्यक्ति दुव्र्यसनिमा फस्दा उसले आफू सँगै परिवार समाज हुँदै राष्ट्रलाई समेत ठूलो क्षति गर्ने बताएका उनले दुर्व्यसनीलाई निर्मुल गर्न जनचेतना अति महत्वपूर्ण भएको बताए।

Logo