‘संसदमा बोल्ने सांसदहरूको बोलीकै कारण लोकतन्त्र खतरामा छ’

‘संसदमा बोल्ने सांसदहरूको बोलीकै कारण लोकतन्त्र खतरामा छ’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबैभन्दा गलत सूचनाको स्रोत संसद रहेको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको प्रयोग र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसदमा बोल्ने सांसदहरूको बोली सबैभन्दा गलत हुने एक अध्ययनले पुष्टि गरेको बताएका हुन्।

उनले भने, ‘सबैभन्दा बढी मिसईन्फरमेसनको स्रोत संसद हो। संसदमा बोल्ने सांसदहरूको बोली सबैभन्दा गलत हुँदो रहेछ। जे कुरा त्यहाँ उनीहरू दाबी गरेर बोलेका हुन्छन्। त्यसको आधार नहुने कुरा बेलायतको एक अध्ययनले देखाएको छ।’

संसदमा बोल्ने सांसदहरूको बोलीकै कारण लोकतन्त्र खतरामा रहेको दाहालको भनाइ छ। प्रधानमन्त्री र मन्त्रीहरूले बोलेको कुरा प्रवाह गर्ने मात्र नभई त्यसको प्रमाणीकरण गरि तथ्य जाँच गर्नु पत्रकारिताको धर्म भएको उनको भनाइ छ।

उनले अघि भने, ‘संसदमा बसेका मान्छेहरूले जे बोल्यो त्यही कुराले लोकतन्त्रमा खतरा छ। यसका लागि पनि हामीले लड्नुपर्छ। पत्रकारिताको धर्म पनि यही हो। पत्रकारले प्रहरी, प्रधानमन्त्री र मन्त्रीहरुले के भन्छन् त्यही मात्र लेख्ने होइन। त्यसलाई प्रमाणीकरण गर्ने हो। त्यसको तथ्य जाँच्ने हो, प्रमाण खोज्ने हो। त्यही प्रमाण खोज्नका लागि हामीले सूचनाको हक बनाएको हो। यस्तो गर्न सकियो भने पत्रकारितामाथिको संकटपनि पर जान्छ। र समाजमा अन्याय पनि हुँदैन। त्यसो गर्न सकियो भने हामीले खाजेको उत्तरदायी समाजपनि निर्माण गर्न सकिन्छ।’

नेपालमा कन्टेन्टका लागि लगानी नभएको कारण नेपाली मिडियाहरू आफूले पाएको सूचनालाई छिटो प्रवाह गर्ने स्थितिमा रहेको बताए।

‘पत्रकारहरूलाई समय छैन होला सूचना माग्ने। किनभने नेपालमा कन्टेन्टमा लगानी नै छैन। जे पायो त्यही सूचनालाई छिटो प्रवाह गर्नुपर्ने स्थितिमा नेपाली मिडिया छ। नेपाली मिडियाहरू त खाली ‘फलानाका अनुसार’ र ‘फलानाले यस्तो भन्नुभयो’ भन्ने तरिकाको पत्रकारितामा छ ,’ उनको भनाइ छ।

Logo