संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ । नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघीय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चीन प्रस्थान गरेको हो ।

नेपाली सेनाले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । सोही अनुरूप नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाका फौजबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फ्रेन्डसिपमा सहभागी हुन टोली चीन गएको हो ।

असोज ५ गतेदेखि १५ गतेसम्म चीनको चोङकिङमा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ । २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।

नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड–१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको हो ।

Logo