सवारी धनीले पाए हराएका सवारी साधन, ट्राफिक प्रहरीले गर्‍यो सम्बन्धितलाई हस्तान्तरण

सवारी धनीले पाए हराएका सवारी साधन, ट्राफिक प्रहरीले गर्‍यो सम्बन्धितलाई हस्तान्तरण

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले विभिन्न मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा काडाँघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगञ्ज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कंलकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

बुझाइएका २६ वटा सहित १४१ वटा सवारी साधन साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १७ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको कार्यालयले बताएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ ।

Logo