असारदेखि अवरुद्ध बागलुङका ग्रामीण सडक सञ्चालन नहुँदा स्थानीयलाई सास्ती

असारदेखि अवरुद्ध बागलुङका ग्रामीण सडक सञ्चालन नहुँदा स्थानीयलाई सास्ती

केन्द्रबिन्दु
28
Shares

बागलुङ । बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न समस्या भएको हो ।

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिकासहित १० वटै पालिकाका ग्रामीण सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअगावै सबै सडक सञ्चालन गर्ने भनिए पनि अविरल वर्षाका कारण खुलाउन नसकिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

यहाँका मुख्यमुख्य सडक सञ्चालन भए पनि केही सडक चाँडै खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । अध्यक्ष घर्ती भन्छन्, “गाउँपालिकाभित्रका सबै सडक दसैँमा सञ्चालन गर्ने योजना थियो तर अविरल वर्षाका कारण केही सडक खुलाउन सकिएन । अब केही दिनमा सञ्चालन हुने गरी काम गर्छौं ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले दसैँअघिको वर्षाले बडिगाडमा ठूलो क्षति पुर्‍याएको हुँदा वडा ९ र १० का विभिन्न स्थानका सडक सञ्चालन गर्न नसकिएको बताइन् । पालिकाले वर्षात्का कारण अवरुद्ध सडक खुलाउनका लागि रु ६० लाख विनियोजन गरे पनि त्यसले केही ठाउँका सडक मात्र सञ्चालनमा गर्न सकिएको उनले बताइन् । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

दसैँमा गाउँमा मोटरबाटो सञ्चालन नहुँदा बोकेरै सामान ढुवानी गर्नुपरेको स्थानीय चन्द्रकान्त बुढामगरले गुनासो गरे । साउन महिनामा पहिरोले सडकको ट्र्याक नै बगाएपछि यातायातका साधान चल्न छोडेको भन्दै दसैँमा टाढाटाढाबाट आउने आफन्तहरुले सास्ती खेप्नुपरेको उनको भनाइ छ । “साउनदेखि नै समस्या थियो तर दसैँमा त समस्या समाधान होला सोचेका थियौँ, यहीबेला वर्षाले धेरै ठाउँमा पहिरो गएर थप समस्या भयो । सडक नखुल्दा दसैँसमेत खल्लो हुनुपुग्यो”, बुढामगरले भने ।

Logo