रसियामा बेपत्ता भएका आफन्तको पीडा- फोनको घण्टी बज्नासाथ झस्कन्छु

रसियामा बेपत्ता भएका आफन्तको पीडा- फोनको घण्टी बज्नासाथ झस्कन्छु

केन्द्रबिन्दु
84
Shares

गण्डकी । रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिङ्गो परिवार समस्यामा परेको छ ।

घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुख्र्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ । जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमानकै फोन आयो कि भन्ने कुराले इन्दिरालाई बारम्बार झस्याङ्ग बनाउँछ । आफू उच्चरक्तचाप र मधुमेहको तथा कान्छो छोरा मुटुको रोगी नियमित औषधि सेवन गर्नुपर्दा आर्थिक अभावसँगै श्रीमान् बेपत्ता भएपछिको पीडाले इन्दिराको शरीरसमेत दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।

निःशुल्क टिकट र राहदानीमा दुबई जानका लागि ज्ञानबहादुर गत असोज ३० गते घरबाट बिदा भएर निस्किए, काठमाडौँमा पुगेपछि दलालको प्रलोभनमा परेर रसिया पुगे, मङ्सिर १३ गते अन्तिम सम्पर्क भएको थियो त्यसपछि कुनै जानकारी आएको छैन इन्दिराले बताइन् । “रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो र दोस्राे क्याम्पमा सारेपछि खानको समेत समस्या परेपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो”, उनले भनिन‍् ।

“रसियामा पुगेको डेढ महिनासम्म सम्पर्क भएको थियो युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन”, इन्दिरा थापा भन्छिन‍्, “मुटुको रोगी कान्छो छोरा कक्षा २ मा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नुपर्ने भनेको थियो आर्थिक अभावको कारण उपचार गर्न सकिएको छैन । अहिले नियमित औषधि खुवाउन पनि मुस्किल परेको छ । विद्यालयमा साथीको बाबा मोटरसाइकलमा लिन आउँदा कान्छो छोराले घरमा आएर बारम्बार बाबा मलाई स्कुलमा लिन कहिले आउनुहुन्छ भनेर सोध्छ मसँग उत्तर छैन ।”

अहिले सम्पर्कविहीन हुँदाको पीडा छँदैछ त्यसमा पनि रसिया जाँदा रु आठ लाख ऋण लागेको उनको भनाइ छ । सशस्त्र प्रहरीमा छ वर्ष सेवा गरेका ४२ वर्षीय ज्ञानबहादुर परिवारको सुखका लागि साउदीलगायत विभिन्न तीन देशमा पुगेका थिए तर पनि बर्मा गयो कर्मसँगै भने जस्तै सोचेजस्तो आम्दानी नभएपछि रसिया गएका थिए ।

सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गङ्गा र छोरी अमृतासहित पाँचजनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । दसैंको पर्वका अवसरमा खर्च नभएपछि विरौटामा रहेका काकासँग तीन हजार मागेर ल्याएको बताउँदै उनले भनिन्, “बर्दियाबाट आउँदा ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ ।”

रसियन राजदूतावासबाट डिएनए परीक्षणका लागि बोलाएपछि ज्ञानबहादुरको दिदी राजकुमारी थापा भदौको ३० गते काठमाडौँ गएकी थिइन् । पोखराको रत्नचोकमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएकी उनले गहभरि आँसु बनाउँदै भनिन्, “भाइ आउने आश अझै मरेको छैन ।”

मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेसिने सयौँ नेपाली एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले बेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौँमा आयोजित कार्यक्रममा समेत सहभागी भएको उनको भनाइ छ ।

Logo