रवि लामिछाने पुगे अदालत

रवि लामिछाने पुगे अदालत

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा लगिएको थियो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेको संलग्नता देखिएको निष्कर्ष निकाल्दै संसदीय छानबिन विशेष समितिले अनुसन्धान गर्न सिफारिस गरेपछि उनी समातिएका हुन् । उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । आजै उनलाई म्याद थप गरेर हिरासतमा राख्ने वा नराख्ने बहस हुनेछ ।

तर, अहिले लामिछानेको पक्राउको विरोधमा भइरहेको रास्वपाको प्रदर्शनले पोखरा तनावग्रस्त भएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय कास्कीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि मााहोल तातिएको हो । कास्की जिल्ला अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । सभापति लामिछानेलाई सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको उनीहरूको आरोप छ।

Logo