सहकारी ठगी प्रकरणः रवि लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद

सहकारी ठगी प्रकरणः रवि लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद

केन्द्रबिन्दु
518
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले ६ दिनको म्याद दिएको छ । आइतबार कास्की जिल्ला अदालतको न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए । सरकारी वकिलले मागेझैं समय पनि अदालतले उपलब्ध गराइदिएको छ । अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ । यसअघि पक्राउ परेका गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई दाबी गरेका सबै अभियोग लामिछानेमाथि पनि अनुसन्धान हुनेछ ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको हो । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ । उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए । उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए । तर, जब सरकार ढल्यो र संसदीय छानबिन विशेष समितिले अनुसन्धान गर्न सिफारिस गरेपछि उनी समातिएका हुन् । उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु जिवी राई अझै फरार छन् ।

Logo