काभ्रेका थप पाँच स्थानीय तह सिल, कुन कुन हुन् सिल गरिएका पालिका?

काभ्रेका थप पाँच स्थानीय तह सिल, कुन कुन हुन् सिल गरिएका पालिका?

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘सिल’ गरेका छन् ।

धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यकबाहेक सबै सेवा पूर्ण रूपमा बन्द गरेको जनाएका हुन् ।

बनेपा नगरपालिकाले आइतबारदेखि नै एक हप्ताका लागि सिल गरेको थियो । बनेपामा मर्निङवाक गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

पाँचखाल नगरपालिकाले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे ६ महिना अनुमति खारेज गरी ५० हजार जरिवानासमेत गर्ने जनाउँदै आजदेखि एक साता नगर सिल गरिएको घोषणा गरेको छ ।

धुलिखेल र पनौती नगरपालिकाले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि ४ दिनका लागि बन्द गरेको जनाएका छन् ।

रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन सिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि सिल गरेको जनाएको छ ।

सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत निर्देशन दिएका छन् ।

सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख छ।रासस

Logo