कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

केन्द्रबिन्दु
0
Shares

कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् ।

जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् ।

अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ ।

अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र बिरामी आएका छन् । यद्यपि सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् ।

भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलका अनुसार जिल्लामा अन्य समयमा दैनिक ५० हाराहारी सुत्केरी हुने गर्दछन् । यति बेला यो सङ्ख्या ४० हाराहारी छ ।

गोरखा, मकवानपुर, नवलपरासीलगायतका जिल्लाका सामान्य गर्भवतीहरूस्थानीयस्तरमै सुत्केरी हुने गरेकाले केही सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।

जिल्लामा सुत्केरी हुनेमध्ये आधा भरतपुर अस्पतालमा हुन्छन् भने बाँकी दुई मेडिकल कलेज र निजी अस्पतालमा हुने गरेको पोखरेल बताउछन् । उनको भनाइमा सुत्केरी गराउनु पर्नेमध्ये ४० प्रतिशतलाई शल्यक्रिया गर्नुपर्छ ।भरतपुर अस्पतालमा यतिबेला पूर्ववत् अवस्थामा उच्च सावधानीका साथ सेवा दिइएको उनको भनाइ छ ।

कोरोनाको दोस्रो लहरमा यो विभागमा एक चिकित्सक र दुई नर्स सङ्क्रमित भएका छन् । अस्पतालमा १२ चिकित्सक र १८ नर्सले यो सेवा दिइरहेका छन् ।

यसै समयमा सङ्क्रमित भएका सात जनाको सामान्य तरिकाबाट सुत्केरी गराइएको छ । दुई जनाको शल्यक्रिया गरिएको छ । तीन जना आइसोलेश्नमा रहेको पोखरेलको भनाइ छ ।

सोही अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स रेखा तिवारी आफूहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सेवा दिइरहेको बताउछन् । मास्क, टोपी, फेससील्ड, गाउन, पञ्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर सेवा दिने गरेको उनको भनाइ छ । 

आवश्यकतानुसार पिसिआर परीक्षण गरेर सुरक्षित विधिबाट प्रसूति सेवा दिइँदै आएको छ । सङ्क्रमित र अन्यका लागि शल्यक्रियादेखि अन्य सबै सेवा फरकफरक ठाउँबाट दिइएको छ । अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाएकाले निर्धक्कका साथ काम गरिरहेको तिवारी बताउछन् ।

चितवन मेडिकल कलेजमा प्रसूति विभाग हेर्दै आउनुभएका डा सविता श्रेष्ठका अनुसार अहिले दैनिक दुई/तीन जनाले प्रसूति सेवा लिने गरेका छन् । अन्य समयमा यो सङ्ख्या पाँच देखि १० हुने गरेको उनको भनाइ छ । वैशाखयता सङ्क्रमण भएका चार जनाको शल्यक्रिया र पाँच जनाको सामान्य ढङ्गबाट प्रसूति गराइएको उनले जानकारी दिए । 

सामान्य विधिबाट गरिएकामध्ये दुईको भ्याकुम प्रयोग गरिएको थियो । थोरै जनशक्तिलाई प्रयोग गरेर सेवा दिइरहेको श्रेष्ठ बताउछन् । बहिरङ र प्रसूति दुवै सेवा सुरक्षित ढङ्गबाट दिइएको उनको भनाइ छ ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहनुभएका चिकित्सक सङ्घ चितवनका अध्यक्ष लोकबहादुर सेढाईं सामान्य अवस्थामा आफूहरुले टेलिफोनबाटै सेवा दिइरहेको बताउछन् । जटिल अवस्था भएमा टेलिफोनबाट समय मिलाएर सुरक्षित ढङ्गबाट अस्पतालमा सेवा दिने गरेको उनको भनाइ छ । 

नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा सेढाईले अन्य बिरामी जस्तो पछि उपचार गरौँला भन्न नमिल्ने भएकाले आवश्यक भएमा रात दिन जुनसुकै समय पनि आफूहरूले सेवा दिइरहेको जानकारी दिए ।

पहिले प्रसूति सेवा दिएका जिल्लाका सबै अस्पतालले अहिले पनि सुरक्षित ढङ्गबाट सेवा दिइरहेका छन् । राजधानी काठमाडौँपछि सबैभन्दा धेरै प्रसूति सेवा दिने भरतपुर हो । 

यहाँ चितवनसहित छिमेकी धेरै जिल्लाबाट प्रसूतिका लागि आउने गर्दछन् । यहाँका अस्पतालमा बाल सघन उपचार कक्ष रहेकाले जटिल अवस्थाका सुत्केरीलाई छिमेकी जिल्लाहरुबाट यहाँ पठाउने गरिन्छ ।

Logo