समयमा काम नसकिएपछि छैटौँ पटक म्याद थपिँदै

समयमा काम नसकिएपछि छैटौँ पटक म्याद थपिँदै

केन्द्रबिन्दु
0
Shares

निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटौँ पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको आयोजनाले पुनः छैटौँपटक म्याद थपका लागि फाइल अघि बढाएको हो ।

सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौँपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महिनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनका अनुसार जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि  स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गौतमका अनुसार अन्य १० वटा टावरको फाउण्डेशन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन् । उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ । उनीहरुले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ ।
 
यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइन क्षेत्रमा मुआब्जा दिनुपर्ने स्थानीयवासीको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ । 

स्थानीयवासी र आयोजनाबीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । आयोजनाले स्थानीयवासीको चित्त बुझाउन नसक्दा सोलुखुम्बुमा उत्पादन भएको सयौँ किलोवाट विद्युत् खेर गएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना २३.५ मेगावाटले अहिले पाँच मेगावाट मात्रै उत्पादन गरिरहेको आयोजनाले बताएको छ । 

Logo