विद्यार्थीको सहजताका लागि हेलो शिक्षक

विद्यार्थीको सहजताका लागि हेलो शिक्षक

केन्द्रबिन्दु
0
Shares

कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन् । विद्यालयले टेलिफोनमै विद्यार्थीलाई परामर्श दिन थालेका छन् ।

दुई महिना विद्यालय बन्द भएपछि असार महिनादेखि कैलालीका विद्यालय खुलेका छन् । विद्यालय प्रशासन खुले पनि विद्यार्थीलाई विद्यालय बोलाएर अध्यापन गर्ने वातावरण बनेको छैन । अझै समुदायमा सङ्क्रमण देखिइरहेकाले भौतिकरूपमा विद्यालयमा उपस्थित भई पढाइ सञ्चालन कहिलेदेखि हुने भन्ने यकिन छैन । घरमै बसिरहेका विद्यार्थीलाई विद्यालयले विभिन्न माध्यमबाट सहजीकरण गरिरहेका छन् । इन्टरनेटको सुविधा भएका विद्यालयले भर्चुअल माध्यमबाट अध्ययन गराउन थालेका छन् भने नेटको सुविधा नभएका विद्यार्थीले टेलिफोन गरेर नजानेको कुरा सोध्ने, केही समस्या भए परामर्श लिने काम थालेका छन् ।

टीकापुरस्थित राष्ट्रिय माध्यमिक विद्यालय मनिकापुरले विद्यार्थीलाई अध्ययनका क्रममा परेका समस्या समाधान गरी पढाइमा उत्प्रेरणा जगाउने उद्देश्यले हेलो शिक्षक कार्यक्रम अगाडि सारेको छ । विद्यालय खोले पनि भौतिकरूपमा विद्यालयमा उपस्थित भई पढ्न नपाउने वातावरण नभएकाले पढाइमा सहजीकरण गर्न यो कार्यक्रम लागू गरेको प्रधानाध्यापक शम्भुराज भट्टराईले बताए । 

पाठ्यपुस्तक वितरणपश्चात विद्यार्थीले घरमै बसेर अध्ययन गर्ने र आपूmलाई परेका समस्या शिक्षकलाई फोनमार्फत सोध्ने गरेको र भर्खरै मात्र कार्यक्रम सुरु गरे पनि विद्यार्थीमा हौसला बढेको शिक्षक शीतल शर्मा बताउछन् । 

भर्खरै मात्र परीक्षणका रूपमा कार्यक्रम सुरु गरे पनि विद्यार्थीमा सक्रियता बढ्ने गरेको र शिक्षकमा विद्यार्थीले प्रश्न सोध्ने गरेको अर्की शिक्षिका धनसरा ढुङ्गानाले बताए । गत वर्ष कोरोनाका कारण विद्यार्थीले राम्रोसँग अध्ययन गर्न पाएनन् । लामो समयपछि विद्यालय खुल्दा पाठ्यपुस्तक पाएका उत्साहित विद्यार्थीलाई पढाइप्रति रुचि जगाउन र व्यस्त बनाइराख्न यो पनि एउटा विकल्प भएको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउछन् । 

स्थानीय पालिकाले विद्यालय खोलेर भर्ना अभियान र प्रशासनिक काम गर्न निर्देशन दिएका छन् । यहाँका सबैजसो विद्यालयमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणजस्ता काम भइरहेका छन् । कतिपय विद्यालयमा भर्चुअल माध्यमबाट अध्यापन, गृहकार्य दिने काम गरिरहेका छन् । अभिभावकले पनि लामो समय विद्यालय बन्द भएकाले अब दूरी कायम गरेर विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्न थालेका छन् ।

Logo