पहिराेमा पुरिएका एककाे शव फेला : बाढीले ७२ घर विस्थापित

पहिराेमा पुरिएका एककाे शव फेला : बाढीले ७२ घर विस्थापित

केन्द्रबिन्दु
0
Shares

तनहुँको ऋषिङ गाउँपालिकामा पहिराेमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो।

ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए।

ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन। प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो। बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिराे खस्दा पुरेको थियो।

बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन्। एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन्। बन्दीपुर–२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन्।

बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन्।

विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन्। ‘घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौँ’, गुरुङले भनिन्।

Logo