संक्रमित पत्रकारलाई आर्थिक सहयोग

संक्रमित पत्रकारलाई आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले २५ हजार रुपैयाँ प्रदान गरेका हुन् । 

सञ्चार प्रतिष्ठानले कोभिड संक्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रम अन्तर्गत पत्रकार राईलाई सो रकम प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताए ।

उनले नेपाल पत्रकार महासंघ जिल्लासँगको सहकार्यमा १४ वटै जिल्लाका संक्रमित पत्रकारलाई सहयोग गरिरहेको बताए । अक्सिजनमा बस्न परेमा २५ हजार र भेन्टिलेटरमा बस्न परे ५० हजार रुपैयाँ नगद उपचारस्वरुप हस्तान्तरण गरिनेसमेत उनको भनाइ थियो । 

सञ्चार प्रतिष्ठानले जिल्लामा रहेका क्रियाशील पत्रकार र प्रमुख जिल्ला अधिकारी तथा प्रशासन प्रमुखसँग सञ्चार क्षेत्रको समस्याका विषयमा छलफलसमेत गरेको छ ।

पत्रकारको तर्फबाट महासंघ इलाम अध्यक्ष विप्लव भट्टराईले पत्रकारको समस्या कागजीभन्दा पनि व्यावहारिकरुपमा अघि बढाउन प्रतिष्ठानलाई आग्रह गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले कतिपय समस्या प्रतिष्ठानले र कतिपय महासंघ आफैँले समाधान गर्नुपर्ने बताए । कोरोना भाइरसको संक्रमणबाट इलाममा १८ जना पत्रकार संक्रमित भएको र हाल अझै चार पत्रकार सक्रिय संक्रमित रहेको महासंघ इलाम शाखाका सचिव भीम चापागाईंले बताए । 

Logo