छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते

छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

शनिबार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४ च ६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा १ ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका–५ का २६ वर्षीय घनश्याम बुढाथोकी, बोलेरो चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का २८ वर्षीय मनिष तिमिल्सिना र बोलेरोमा सवार २३ वर्षीय रन्जित माझी घाइते भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । 

त्यसैगरी शनिबार राति नै कावासोती–१ रिठ्ठेपानीको भित्री सडकखण्डमा रिठ्ठेपानीबाट कावासोतीतर्फ आउँदै गरेको लु ३ त ६२१५ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी मध्यविन्दु–६ का २४ वर्षीया सुनिता बोटे, ४५ वर्षीय लालमणि महतो र २५ वर्षीया लक्ष्मी कुमाल घाइते भएकी छन् । घाइते सबैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Logo