प्रमुखविहीन भए मनाङका सरकारी कार्यालय

प्रमुखविहीन भए मनाङका सरकारी कार्यालय

केन्द्रबिन्दु
0
Shares

मनाङ जिल्लामा आधा दर्जन बढी सरकारी कार्यालय प्रमुखविहीन भएका छन् ।

असार मसान्त सकिएलगतै  मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । 

कोही घर बिदामा, कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बहानामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । 

प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले कार्यालय खोल्ने र बन्द गर्ने गरेका छन् ।

बाढीपहिराको जोखिममा रहेको हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट पूर्ण रूपमा बिच्छेद हुँदा बिदामा गएको कार्यालय प्रमुखहरु आउन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । उनीहरुले अनलाइनको माध्यमबाट यहाँको सेवा प्रवाहका बारेमा जानकारी लिँदै आएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भन्छन्, ‘एक त सडक सञ्जालले पनि समस्या निम्त्याएको छ । अर्को विपद् आउनुभन्दा अघिजस्तो काम हुँदैन भनेर पनि नआएका होलान्।’

मनाङको शैक्षिक सत्र सकिने अवस्थामा समेत शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख पनि कार्यालयमा अनुपस्थित छन् । त्यस्तै बाढीपहिरोका विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध हुँदा त्यसको मर्मतका लागि जुट्नुपर्ने अवस्थामा नेपाल विद्युत् प्राधिकरण मनाङका प्रमुख पनि जिल्ला बाहिर छन् ।

कार्यालयका प्रमुख नै बाहिरी जिल्लामा रहँदा जिल्लाको विपद् व्यवस्थापनमा समस्या भएको प्रजिअ लामिछानेले बताए । रासस
 

Logo