यसरी डाक्टर बनिन् जेवा खातुन

यसरी डाक्टर बनिन् जेवा खातुन

केन्द्रबिन्दु
0
Shares

मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्र पनि पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि परेका छन् । तर, त्यही मुस्लिम समुदायकी जेवा खातुन चिकित्सा क्षेत्रमा प्रवेश गर्ने पहिलो महिला बनेकी छन्। उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी हुन्। 

सप्तरीको खड्क नगरपालिका–८ कल्याणपुरकी फिरोज खान र यास्मिन सुल्तानकी छोरी जेवाले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्तीर्ण गरेकी हुन्।

एमबिबीएस उत्तीर्ण गर्नुको श्रेय भने उनले आमाबुबालाई दिइन्। ‘सायद उहाँहरुले नपढाउनुभएको भए आज म चिकित्सक बन्ने थिइनँ। बल्ल मेरो सपना पूरा भएको छ,’ उनले भनिन्।

आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि खुसी लागेको खातुनले बताइन्।

नर्सरी कक्षामै पढ्दाखेरी सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा आफ्नो दिमागमा खेलिरहेको उनले बताइन्। त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लगिन्, उनले।

उनले २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी थिइन् भने विराटनगरबाट उच्च मावि उत्तीर्ण गरेपछि मेडिकल प्रवेश परीक्षाका लागि तयारी थालेकी थिइन्।

उनले परीक्षा दिइन् तर पूर्ण छात्रवृत्तिमा नाम निस्किएन। ‘तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाउनुभयो,’ उनले भनिन्।

एमबिबीएस उत्तीर्ण गरेपछि उनी अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहेकी छन्।

उनका बुबा कल्याणपुर बजारका व्यवसायी हुन् भने आमा खड्क नगरपालिकाका उपप्रमुख छिन्। इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उनको इच्छा छ। ‘जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु’, उनले भनिन्।

एमबिबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने उनले बताइन्। जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाएका छन्।

जेवाकी माहिली बहिनीले पनि चिकित्सा शिक्षा नै पढ्ने तयारी गरेकी छन्। तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनले बताइन्।

मुस्लिम समुदायबाट जेवाले एमबिबीएस उत्तीर्ण गरेपछि उनका छरछिमेक खुशी छन्। छिमेकी अनवर अलीले यो सफलता उनको मात्र नभई मुस्लिम समुदायकै भएको बताए।

‘जेवाजस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले साथ दिनुपर्छ। यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ,’ उनले भने।

Logo