४ दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

४ दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

केन्द्रबिन्दु
0
Shares

विगत चार दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग बागलुङ-पोखरा खण्ड अझै खुल्न सकेको छैन । 

लोकमार्गको पर्वत खण्डमा चुवादेखि डिमुवा क्षेत्रका ठाउँठाउँमा ठूलो पहिरो गएपछि अवरुद्ध सडक खुलाउन अझै दुई दिन लाग्ने भएको बताइएको छ । 

पहिरोले आठ किलोमिटर सडकका २० स्थानमा सडक क्षतविक्षत बनाएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । बिहीबार राति परेको भीषण वर्षले पहिरो खसेको थियो । 

शुक्रबारदेखि नै सडक खुलाउन प्रयास गरेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । ठाउँठाउँमा ठूला चट्टानसहितको पहिरोले सडक नै बगाएको हुँदा मंगलबारसम्म एकतर्फी सडक खुलाउने प्रयास भएको उनको भनाइ छ । 

भ्याप्टले खोला नजिकै ठूला चट्टान खसेका कारण बिस्फोटक पदार्थको प्रयोग गरी फुटाउन नेपाली सेनासँग सहकार्य भएको छ । अहिले पाँचवटा स्काभेटर प्रयोग गरेर सडक सफा गर्ने काम भइरहेकाे छ । 

मोदीको पातीचौरबाट कुश्मातर्फ दुईवटा र कुश्माबाट पातीचौरसम्म दुईवटा तथा बीच भागमा एउटा स्काभेटर प्रयोग गरिएको छ । चार दिनदेखि लोकमार्ग अवरुद्ध भएकाले साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ, प्रदेश तथा संघीय राजधानी र अन्य जिल्लासँगको सिधा सडक संजाल बिच्छेद भएको छ ।

बाहिरी जिल्लाबाट धौलागिरिका विभिन्न जिल्लामा आउने यात्रुहरू डिमुवादेखि करिव दुई-तीन घण्टा पैदल यात्रा गरेर चुवासम्म पुग्छन् । कुश्मा बजारदेखि सवारी परिवर्तन गरी गन्तव्यमा जान उनीहरू बाध्य छन् । दोविल्लामा १०० मिटर सडक नै बगाएको हुँदा नयाँ ट्र्याक खोल्नुपर्ने बाध्यता छ । न्युज कारखाना । 

Logo