यसपालि पनि सरकारले सर्वोकृष्ट कर्मचारी भेट्टाएन

यसपालि पनि सरकारले सर्वोकृष्ट कर्मचारी भेट्टाएन

केन्द्रबिन्दु
0
Shares

सरकारले यस वर्ष पनि निजामती सेवामा काम गर्ने राम्रो कर्मचारी फेला पार्न सकेन । हरेक वर्ष एक जना कर्मचारीलाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको सरकारले यस पटक पनि कोही कर्मचारी फेला पार्न नसकेको हो । 

भोलि (मंगलबार) देशभरि नै ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ दिवस मनाइने गरिन्छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । तर, बैठकले सर्वोकृष्ट कर्मचारी कोही फेला नपारेको हुनाले कसैलाई पनि दिने निर्णय गरेन । 

सर्वोकृष्ट कर्मचारीले नगद दुई लाख रुपैयाँसहित पुरस्कार पाउने गरेका छन् । दिवसकै अवसरमा सरकारले बर्सेनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ ।

बर्सेनी एक जनालाई सर्वोकृष्ट पुरस्कार प्रदान गरेपछि दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि अहिलेसम्म चार जना मात्र कर्मचारीले उक्त पुरस्कार पाएका छन् ।

अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी र भाइकाजी तिवारीले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् । 

पूर्वसचिव गोपी मैनालीले राम्रो काम गरेको एक जना कर्मचारी सरकारले नपाउनु दुर्भाग्य भएको बताए । नेपालका कर्मचारी सेवामुखी भन्दा पनि प्रक्रियामुखी बढी भएको आरोप लाग्ने गरेको छ । उनीहरूलाई जनताको सेवा कसरी गर्नुपर्छ भन्नेमा भन्दा चाकडी र जागिरमुखी भएर काम गरिरहेका छन् ।

२२ भदौ २०१३ मा पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

Logo