‘जनताको बहुदलीय जनवाद र एमाले अब सकियो’: नेता नेपाल

‘जनताको बहुदलीय जनवाद र एमाले अब सकियो’: नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

धनगढी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन् । धनगढीमा शनिबार आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन् ।

नेता नेपालले प्रधानमन्त्री केपी ओली पूर्वएमाले र जनताको बहुदलीय जनवादको नाम लिएर गफ दिएर हिँडेको आरोप समेत लगाए । आफूलाई सक्कली एमाले भनेर हिँडिरहेको तर, लामो समय पार्टीको नेतृत्व गर्ने माधव नेपाल र झलनाथ खनालभन्दा केपी ओली कसरी असली हुन्छ भन्दै नेता नेपालले जनतासामू प्रश्न समेत गरे ।

वरिष्ठ नेता नेपालले भ्रष्टाचारलाई ढाकछोप गर्ने र जनतालाई सुशासन दिन नसकेकाले केपी ओली नेतृत्वको सरकारलाई बोकेर हिँड्न नसकेको पनि प्रष्ट पारे । यस्तै अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संसद् बोलाएर ओलीलाई कारबाही गर्ने विकल्प रहेको बताएका छन् । धनगढीको विरोधसभालाई सम्बोधन गर्दै दाहालले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिसकिएको हुन्थ्यो भन्दै ओलीको कदमको विरोध गरे ।

Logo