छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयमा बुधबार पदबहालीपछि उहाँले दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका हुन्। साथै उनले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउनसमेत ध्यान केन्द्रित हुने बताए।

मुुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा तथा प्रवद्र्धन गर्नु सरकारको प्राथमिकताको विषय भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले यही विषयमा नै मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

मुलुकको परराष्ट्र नीति स्वतन्त्रता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र समानताको आधारमा राष्ट्रको सर्वाेपरी हितलाई ध्यानमा राखेर सञ्चालन गरिएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन कूटनीतिक दक्षता आवश्यक भएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामी बहुपक्षीय र क्षेत्रीय मञ्चमा सहभागिता जनाउन, राष्ट्रिय हितका पक्षपोषण गर्न र राष्ट्रिय हित अनुकूलको निर्णय गराउन तथा विश्व शान्तिको पक्षमा आवाज उठाउने छौँ”, उनले विदेशमा रहेका नेपाली कामदारको हितको रक्षा गर्ने विषय सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

अहिलेको केन्द्रीय कार्यभार भनेको सामाजिक राजनीतिक रुपान्तरण तथा विकास र समृद्धि भएको परराष्ट्रमन्त्रीले बताए। आर्थिक कूटनीतिलाई महत्वका साथ अघि बढाउन ध्यान दिने तथा राजदूत नियुक्तिको मापदण्डलाई अझ राम्रो बनाउन र नियमित मूल्याङ्कन गर्ने व्यवस्थामा आफ्नो ध्यान जाने बताए। उनले कूटनीतिक आचारसंहिता कार्यान्वयन गर्न सबै कर्मचारीलाई निर्देशन दिए।

Logo