बाँसबारी छाला जुत्ता प्रकरणमा सिआइबीले लियो उद्योगपति विनोद चौधरीको बयान

बाँसबारी छाला जुत्ता प्रकरणमा सिआइबीले लियो उद्योगपति विनोद चौधरीको बयान

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उद्योगपति विनोद चौधरीको बयान लिएको छ। सिआइबीले सरकारी वकिलको कार्यालय काठमाडौंका अधिकारीहरुको रोहबरमा चौधरीको बयान लिएको हो।

चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत हुन्। २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो।

त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए। तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ। सो प्रकरणमा अनुसन्धानका लागि उद्योगपति एवम् सांसद चौधरीको वयान लिइएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

बुधबार साँझ मात्रै सिआइबीले चौधरीमाथि छानविन भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो। यसअघि चौधरीका भाइ अरुण पक्राउ परेका थिए। कारखानाको जग्गा हिनामिनाको आरोपमा माघ १८ गते पक्राउ परेका अरुणलाई अर्को दिन काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा छोडिएको थियो।

Logo