प्रधानमन्त्रीको सम्बोधन : कर्मकाण्डी

प्रधानमन्त्रीको सम्बोधन : कर्मकाण्डी

केन्द्रबिन्दु
0
Shares

समाचार टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोभिड १९ को सवालमा उनले गरेको यो सम्बोधन दोस्रोपटक हो । यसअघि उनले चैत ७ मा पनि यसैगरी सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीले आज गरेको सम्बोधनलाई बालकदेखि बृद्धसम्मले बुझ्ने भाषामा भन्नुपर्दा ‘हात्ती आयो, हात्ती आयो,…फुस्सा’ जस्तो मात्र भयो । हिजोदेखि प्रचारित यो सम्बोधन किन पनि अर्थहीन रह्यो भने, उनले नयाँ कुरा एउटा पनि उजागर गरेनन् । बरु यो बीचमा सप्रमाण आएका भ्रष्ट्राचार प्रकरण र सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिने कुराको बचाऊ उनको सम्बोधनको मूल मक्सद देखियो ।

सञ्चार माध्यममा आएको सप्रमाण भ्रष्ट्राचार प्रकरणका कारण आम जनता मात्र होइन, उनकै पार्टीका शीर्ष नेताहरु नै असन्तुष्ट छन् । र, त्यो असन्तुष्टीलाई नेताहरु आज अपरान्ह हुने सचिवालय बैठकमा उठाउने तयारी गर्दै रहेको सुइको पाएपछि नेकपाका एकजना अध्यक्ष समेत रहेका ओलीले सुरुमै सार्वजनिक जवाफ दिन प्रयत्न गरेका हुन् । जुन पञ्चायतकालीन उच्च ओहोदाका ब्यक्तिहरुले गर्ने गरेको थोत्रो शैली हो । अर्को शब्दमा भन्नुपर्दा प्रधानमन्त्रीको आजको सम्बोधन ‘कर्मकाण्डी’ छ । जसको सकारात्मक सन्देश प्रवाह हुनेमा संदेह छ ।

‘आउने दुई हप्ता उच्च जोखिमको हुनेछ ।’ प्रधानमन्त्रीले सम्बोधन क्रममा राखेको सबैभन्दा ‘बोल्ड’ हरफ यही नै हो । तर, त्यसका लागि के कस्तो तयारी गर्छ त राज्यले ? खासमा आस्वस्त पार्ने ठाऊँ यही थियो । तर, यस ठाऊँमा पनि प्रधानमन्त्री स्वास्थ्य मन्त्रालयका प्रवक्ता, सरकारका प्रवक्ता र रक्षामन्त्रीले दिनहुँजसो दिने ‘ओठे’ जवाफ दोहोर्याउनमा सीमित रहे । कोभिड १९ को विरुद्धमा सरकारले गरेका काम प्रति प्रधानमन्त्रीले पूर्ण सन्तुष्टी ब्यक्त गरे । नेपालका अपवाद बाहेक कुनैपनि शासकहरुले आजसम्म आफ्नो गल्ती वा कमजोरी स्वीकारेको इतिहास छैन । प्रधानमन्त्री ओलीले यो ‘ड्याङ’बाट निस्कने कोशिस गरेनन् । निराधार प्रचार भन्न यसपटक पनि छोडेनन् । बिरामी ओसार पसारमा उपयुक्त ब्यवस्था गरेका छौं पनि भने । रोगथाम, नियन्त्रण र उपचार गरि तीन सुत्रमा अब्बल रुपमा काम गरिरहेको कुरा पनि भन्न भ्याए ।

प्रधानमन्त्रीका अनुसार ३० हजारलाई क्वारेन्टाइन केन्द्र, जहाँ हाल ९ हजार बसेका छन् । तीन हजार दुई सय आइसोलेशन बेड छन्, जहाँ हाल ९५ जना छन् । आदि प्रधानमन्त्रीले गौरवसाथ दोहोर्याएका डाटा हुन् । अब प्रश्न उठ्छ, ‘दुई सातामा हुने सम्भावित उच्च जोखिम थाम्छ त यतिका बेडले ?’ के अबको दुई साता (प्रधानमन्त्रीको भाषामा उच्च जोखिम) थाम्ने भनेको ३० हजार क्वारेन्टाइन र ३ हजार दुईसय आइसोलेशन बेडले हो ? शायद यसको जवाफ उनीसँग छैन । हाँस्यास्पद पक्ष त के थियो भने, संक्रमितहरुको संख्या ९ जनामा सीमित राख्न सकेकोमा समेत उनले गौरव गरे । तर, सँगसँगै हजारौंको संख्यामा घर फर्केका नेपालीहरु जो क्वारेन्टाइनमा आएनन् । तिनीहरुप्रति आफूमा चिन्ता थपिएको भनेर सरकारी लाचारी समेत प्रकट गरे ।

आम मानिसलाई दुखाउने दुईटा हरफ बोले प्रधानमन्त्रीले । एउटा थियो, ‘स्वास्थ्य सामग्री खरिदमा कर्तब्य परायणता सराहनीय छ ।’ र दोस्रो हरफ थियो, ‘कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिप्रति गौरव छ ।’ वर्तमानमा सबैभन्दा धेरै प्रश्न उठेका दुईटा निकाय वा काम यिनै हुन् ।

सम्बोधनको अन्त्यमा भूकम्प पूनर्निर्माणप्रति गौरव गरे उनले जो आफैंमा लज्जाजनक उदाहरण थियो । ५ बर्ष पुग्दा समेत नसकिएको पुनर्निर्माणको प्रसंग जोड्नुले कोभिड १९ बिरुद्धको लडाईँ कस्तो होला ? सहजै पूर्वानुमान लगाउन सकिन्छ ।

केही कमजोरी भयो, धेरै सक्रिय हुन सकिनँ, स्वास्थ्य सामग्री खरिद गर्दाको आशंकाका लागि छानबिन गर्छु, सेनालाई स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिनुका कारण यी–यी हुन्, लकडाउन थपिएको समयमा सरकार यसरी अघि बढ्छ, आदि भनिदिएको भए प्रधानमन्त्रीको कद घट्दैनथ्यो । बरु बढ्थ्यो । र, सबैको आशंका पनि ‘दुर’ हुन्थ्यो । खासमा सम्बोधनको आम अपेक्षा पनि यही नै थियो ।

Logo