‘विश्वविद्यालयमा कोटा प्रणाली हटाऔं, शिक्षामा विदेशी लगानीकाे आवश्यकता पहिचानौं’

‘विश्वविद्यालयमा कोटा प्रणाली हटाऔं, शिक्षामा विदेशी लगानीकाे आवश्यकता पहिचानौं’

केन्द्रबिन्दु
280
Shares

-राजेन्द्र बराल

नेपाललाई शैक्षिक हब बनाउनुपर्छ भन्ने विषयले पछिल्लो समय माहोल तताउँदै गएको छ । यस विषयमा बाक्लो छलफल पनि हुँदै गएका पाइन्छ । यदि नेपाललाई शैक्षिक हब बनाउने हो भने शैक्षिक क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न एकदमै आवश्यक छ । शैक्षिक क्षेत्रको हब बनाउन ‘ब्रेन ड्रेन हैन ब्रेन गेन गरौं’ । नेपालमा धार्मिक, संस्कृति, कृषि, हाइड्रोका विश्वविद्यालय सञ्चालनमा ल्याऊँ, पढ्नका लागि विदेशबाट लाखौं विद्यार्थी हामी ल्याइदिन्छौं भनेर पहिला देखिनै भन्दै आएका थियौं । म नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को महासचिव हुँदादेखि नै नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ भनेर भन्दै आएका थियौं ।

शैक्षिक क्षेत्रको हब बनाउन ‘ब्रेन ड्रेन हैन ब्रेन गेन गरौं’ ।

१८ वर्ष अगाडि नै उठाएको यो विषय अहिले राष्ट्रको एउटा आर्थिक मेरुदण्डको शिक्षा क्षेत्रलाई पनि स्थापित गर्न सकिन्छ भनेर ‘नेपालमा अध्ययन’ सुरुवात गरिएको छ । पहिलो विषय त नेपाली विद्यार्थीले सहज तरिकाले पढ्न सक्ने व्यवस्था मिलाउनु पर्छ । कोटा प्रणालीलाई हटाई अन्तराष्ट्रिय विद्यार्थी ल्याउनुभन्दा अघि नेपाली विद्याथीलाई सुरक्षित गर्नुपर्यो । किनभने कोटा प्रणालीलाई राखेर भर्ना र परीक्षाको मितिलाई ब्रेक गर्न सकिएन भने यहाँ पढ्न अन्तराष्ट्रिय विद्यार्थी आउँदैन । नेपालमा शैक्षिक क्षेत्रमा विदेशी लगानीको आवश्यकता छ छैन त्यसको पहिचान गर्न आवश्यक छ । नेपालमा अहिले ११ वटा विश्वविद्यालयहरू छन् । विश्वविद्यालयको पछिल्लो तथ्यांक हेर्दा त्रिभुवन विश्वविद्यालयमा ३ लाख २२ हजार ५ सय ६२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ७५ सय ९२ जना शिक्षकले अध्यापन गराइ राख्नु भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा ३० हजार एक सय २८ विद्यार्थी, ७ वटा विद्यालय र ९६ जना शिक्षक छन् । यस्तै, पोखरा विश्वविद्यालयसँग २९ हजार ४ सय १९ विद्यार्थी, ४ वटा क्याम्पस र १३३ जना शिक्षक छन् । काठमाडौँ विश्वविद्यालयमा १७ हजार ९ सय ४२ विद्यार्थी, ९ वटा कलेज र ३ सय ८८ जना शिक्षकहरूले अध्यापन गराई राख्नु भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयसँग ३७ सय ४२ विद्यार्थी, १४ वटा कलेज र ४ सय ८४ जना शिक्षक छन् । त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयमा ३६ सय ८६ जना विद्यार्थी, १५ वटा कलेज र एक सय ९ जना शिक्षकहरू छन् । मध्यपश्चिम विश्वविद्यालयमा ३२ सय २४ विद्यार्थी, १५ वटा कलेज, १२८ शिक्षकहरू हुनुहुँदो रहेछ । त्यस्तै, कृषि तथा वन विश्वविद्यालयसँग १९ हजार ७८ विद्यार्थी ८ वटा कलेज, १२२ शिक्षकहरू छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ सय ५ विद्यार्थी, एउटा कलेज र २३ शिक्षक रहेछन् । नेपाल खुला विश्वविद्यालयसँग ५९३ विद्यार्थी, एक वटा कलेज र राजर्षि जनक विश्वविद्यालयमा १ सय ९२ मा विद्यार्थी, एउटा कलेजसहित ३४ जना शिक्षकहरू रहेछन् ।

सञ्चालनमा आएकै विश्वविद्यालयलाई सुधार गरी सैद्धान्तिक, व्यावहारिक, वैज्ञानिक साथै अनुसन्धानमा आधारित शैक्षिक प्रणालीमा अगाडि बढ्न आवश्यक छ ।

सञ्चालनमा आएकै विश्वविद्यालयलाई सुधार गरी सैद्धान्तिक, व्यावहारिक, वैज्ञानिक साथै अनुसन्धानमा आधारित शैक्षिक प्रणालीमा अगाडि बढ्न आवश्यक छ । शैक्षिक पाठ्यक्रम सुधार गरी यहाँ पढ्ने वातावरण बनाएपछि मात्र परामर्श व्यवसायीहरूलाई यहाँ ठाउँ हुँदाहुँदै किन विद्यार्थी विदेश पढ्न पठाएको भनेर दोष दिन सुहाउँछ ।हामीले उठाएको यि एजेण्डालाई कोठाभित्र र टेलिभिजनमा मात्र हैन, सबै संघ संस्थाहरूसँग छलफलको विषय बनाउनुपर्छ भनेर उठाई राख्दा हामीलाई मानव तस्करी, परामर्श संस्थाहरूले विद्यार्थीलाई बेच्यो, डलर कमायो भन्ने लगायतका आरोप लाग्ने गर्छन् । यस्ता दिवा सपना बोकियो भने नेपाल शैक्षिक हब बन्न सक्दैन ।

जति विश्वविद्यालय बिग्रन्छ त्यति नै परामर्श व्यवसायीहरुको व्यापार फस्टाउँछ ।

नेपालको एउटै शैक्षिक क्यालेन्डर बनाउनु आवश्यक छ । किताबको सिलेबस कसरी बनाउने कुन विषयलाई अगाडि बढाउने, नेपालको अर्थतन्त्रलाई कसरी बढावा दिने भन्ने विषय चित्रण गर्न जरुरी देखिन्छ । विश्वविद्यालयका सञ्चालकहरू सेमेस्टर वाइज शिक्षा सञ्चालन गरेका छौं भन्नु हुन्छ । एउटा विद्यार्थीले ६ महिना पछि भर्ना गर्ने अनि परीक्षा दिनको लागि पाउने कि नपाउने ? यदि उसलाई कुनै विषयमा ब्याक लाग्यो वा कुनै कारणले गर्दा उसले परीक्षा दिन सकेन भने उसले अन्य शुल्क तिरेर परीक्षा दिन पाउने कि नपाउने ?

विश्वविद्यालयमा काम गर्ने प्रोफेसर शिक्षकहरूले राजनीतिक पार्टीको झण्डा बोक्ने र ठोका ढकढक्याउन बन्द गर्नुपर्यो । विश्वविद्यालयको नाममा राजनीति गरी जागिर खाएर बस्ने अनि शैक्षिक परामर्श व्यवसायीलाई गाली गरेर तपाईंहरुले अर्को धर्म कमाउन खोज्नुभयो भने चाहिँ अन्याय र अत्याचार हुन्छ । त्यो अन्याय तपाईंको छोरा–छोरी घरबाट हुन्छ । किनभने आजका सबैका छोरा–छोरी विदेश पढ्न गएका छन् । राजनैतिक दलका साथीहरू परामर्श संस्थाहरूले विदेश मान्छे पठाएर सके भन्छन् । हामीले विदेश बढाएका विद्यार्थी गैरआवासीय नेपाली (एनआरएन) बनेर आयो भने फूल लिएर भेट्न तछाड् र म छाड्दै गर्दै जानु हुन्छ । पढ्ने, पढाउने, खाने, उपचार गर्ने ठाउँमा पनि राजनीति गर्ने अनि कसरी हुन्छ देशका विकास ?

पढ्ने, पढाउने, खाने, उपचार गर्ने ठाउँमा पनि राजनीति गर्ने अनि कसरी हुन्छ देशका विकास ?

अब दोष र आरोप लगाएर प्रवृति हटाऔं । सबै आआफ्नो ठाउँबाट सच्चिऔं । नेपालमा प्राविधिक र स्वास्थ्य शिक्षा पढ्न विदेशबाट विद्यार्थी पढ्न आउन सक्ने सम्भावना छ । नेपालमा भएका मेडिकल कलेजमा प्रतिवर्ष दुई हजार विद्यार्थीले पढ्छन् । नेपालमा मेडिकल कलेज १०० वटा सञ्चालनमा ल्याउन सक्यौं भने वार्षिक त्यहाँ १० हजार विद्यार्थीले पढ्न सक्छन् । जसमध्ये मेडिकल पढ्ने ६ हजार विद्यार्थीलाई विदेशबाट ल्याउन सक्यौं भने वार्षिक ४० अर्ब रुपैयाँ भित्र्याउन सक्छौं ।
तपाईं हामीले नै देशमा परिवर्तन ल्याउने हो । अधिकार लिएर बस्ने, तर काम नगर्ने प्रवृतिलाई अब हटाउनु पर्छ । विद्यार्थीका हक हितका विषयलाई कहिल्यै नउठाउने अनि राजनीतिक पार्टीको झण्डा बोक्ने, विश्वविद्यालयमा विभिन्न संगठन खोल्ने अनि एउटा विभाग प्रमुख (एचओडी) पनि राख्न सक्नुभएन भने तपाईंहरु विश्वासको वातावरण बन्ला हुन्छ ?

नेपालमा शैक्षिक क्षेत्रका भौतिक पूर्वाधारको सुधार हुन पनि आवश्यक छ । अन्तर्राष्ट्रिय विद्यार्थी नेपाल ल्याउनको लागि सोही अनुसारको विद्यालयमा सेवा सुविधाको व्यवस्था गर्नुपर्यो । किनभने उसले यहाँ पैसा तिरेर आएको हुन्छ । पैसा तिरेर आएपछि सेवा सुविधा खोज्नु स्वाभाविक पनि हो । विदेशबाट आएका विद्यार्थीलाई पनि बीमा गर्ने वातावरण मिलाउनु पर्यो । सहज भिसा साथै सुरक्षाको आवास हुने व्यवस्थापन पनि मिलाउनु पर्छ । राजनैतिक विद्यार्थीहरूको संगठन बनाएर विद्यालयमा ताला लगाउने र आफूले भनेको मान्छेलाई नियुक्त गर्ने प्रथाको अन्त्य गर्नुपर्छ । हामी परीक्षा लिन्छौं तर नतिजा समयमा दिन गाह्रो भइरहेको देखिन्छ । हामी परीक्षा लिन सक्छौं भने नतिजा पनि समयमै दिन सक्नुपर्छ ।

घाँटीमा डोरी लगाएर त दौडि भन्ने अनि धेरै दौडियो भने अलिकति तानिदिने प्रथाले कसरी नेपाललाई शैक्षिक हब बनाउन सकिएला ?

नेपालमा पैसा तिरेर पनि मेडिकल साथै इन्जिनियर पढ्न नपाउने अवस्था छ । नेपालमा कोटा नपाएर पनि अर्को देशमा पढ्न जानुपर्ने बाध्यता छ । घाँटीमा डोरी लगाएर त दौडि भन्ने अनि धेरै दौडियो भने अलिकति तानिदिने प्रथाले कसरी नेपाललाई शैक्षिक हब बनाउन सकिएला ?

जति विश्वविद्यालय बिग्रन्छ त्यति नै परामर्श व्यवसायीहरुको व्यापार फस्टाउँछ । तर, यो देशमा बसिराख्दा यहाँको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भई विदेश पठाउने भन्दा पनि विदेश विद्यार्थी ल्याउने चाहना हाम्रो हो । शिक्षकहरूले पनि अनुसन्धानमा आधारित शिक्षा दिन सकेन् । यहाँ सम्भावनाको क्षेत्रहरु अथाह छन् । सम्भावित क्षेत्रको पहिचान गरी अगाडि बढ्ने उचित समय आएको छ ।

(बराल ब्रिलियन्ट एजुकेशनका प्रबन्ध निर्देशक तथा इक्यानका पूर्वअध्यक्षसमेत हुन् ।)

Logo