‘पढाइपछि रोजगारको सुनिश्चितता हुन नसक्दा विद्यार्थीले विकल्पमा विदेश रोजे’

‘पढाइपछि रोजगारको सुनिश्चितता हुन नसक्दा विद्यार्थीले विकल्पमा विदेश रोजे’


नेपालको हरेक क्षेत्रले सुधार, परिवर्तन र विकास चाहेको छ । त्यसमध्ये एउटा क्षेत्रमा ‘शिक्षा’ पनि पर्छ । देशबाट अहिले प्लस टु सकेर विद्यार्थी विदेशिनेको संख्या उच्च भइरहेको अवस्थामा आगामी दिन यो दरलाई घटाउन लागि सम्बन्धित निकायहरू लाग्नु पर्ने देखिन्छ । म आफैले अमेरिका, युएई लगायतका धेरै मुलुकहरूको शैक्षिक प्रणालीलाई नजिकबाट नियाल्ने अवसर पाएको छु । त्यहाँको शिक्षासँग नेपालको शैक्षिक अवस्थाको तुलना गर्दा हामी यसबाट निकैपछि रहेको सहजै अनुमान गर्न सकिन्छ । हामीले विद्यार्थीलाई गुणस्तर शिक्षा दिन अझै बाँकी छ । विश्वमा आईबी र ब्याक्टेरियल लगायतका विभिन्न शैक्षिक प्रणाली अहिले चलिरहेको छ । जङ्गबहादुर राणाको बेलायत भ्रमण पश्चात् नेपालमा औपचारिक रूपमा शिक्षा भित्रिएको मानिन्छ । त्यसकारण पनि नेपालको शैक्षिक इतिहास धेरै लामो छैन । हामी शिक्षाको विकास र सुधार गर्नको लागि बामे सर्दै गरेको अवस्था हो ।

नेपाललाई विश्वमा शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई पछ्याउनै गाह्रो भइरहेको छ । अहिले विद्यार्थीले परीक्षा नै नदिई उत्तिर्ण हुने प्रणाली आईसक्यो । हामीले विद्यार्थीलाई सैद्धान्तिक शिक्षा दिइरहेका छौं । व्यवहारिक शिक्षा दिनबाट भने चुकीरहेको अवस्था हो । हामीसँग अहिले शैक्षिक संस्थाहरुले मन्टेसरीदेखि स्नातक तहसम्मको प्रोग्राम सञ्चालन गर्दै आएका छन् । मोन्टेसरीको एउटा, कक्षा एकदेखि १० सम्म अर्को, स्नातक तहको अर्कौं शैक्षिक प्रणाली छ ।

अहिलेका विद्यार्थीसँग घरायसी व्यवहारिक ज्ञानको कमी पाइन्छ । जुन अभिभावकले आफ्ना छोराछोरीलाई सिकाउन जरुरी छ ।

शिक्षाको जस्तो सिस्टम भए पनि हामी सैद्धान्तिक मात्रै भयाैं, प्रयोगात्मक भने हुन सकेनौं । युरोपका धेरै मुलुकले पछिल्लो समय प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएको पाइन्छ । नेपालबाट विदेश पढ्न गएका विद्यार्थीले त्यहाँका शिक्षा सहज भएको महसुस गर्छन् । किनभने यहाँ सैद्धान्तिक शिक्षा मात्र पढाइ हुन्छ, उता व्यवहारिक शिक्षामा बढी फोकस छ ।

नेपाललाई शैक्षिक हब बनाउने हो भने शैक्षिक क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधारी गरी अन्तर्राष्ट्रिय विद्यार्थीलाई यहाँ सहज तरिकाले पढ्न सक्ने वातावरण मिलाउनु पर्छ । शिक्षा नीतिलाई परिमार्जन गर्न आवश्यक छ । विद्यालयमा व्यवहारिक शिक्षामा लागू गर्न सकेनौं भने भोलिका दिनमा समस्याहरु सिर्जना हुन सक्छन् । अहिले सिपमूलक शिक्षाको अभाव भएको अनुमान गर्न सक्छौं । किनभने अहिले एउटा बत्ती बनाउन, साइकलको चेनसमेत फुस्कियो भने मान्छेलाई जाेड्न आउँदैन ।त्यसैले विद्यार्थीलाई अब किताबी शिक्षा दिएर मात्रै पुग्दैन । हामी विद्यार्थीलाई एक वर्षसम्म मिहिनेत गरेर पठाउँछौं । तर, अन्तिममा उसलाई सोध्दा केही आउँदैन । त्यसपछिको कारण के हो भनेर म खोजीरहेको छु ।

नेपाललाई विश्वमा शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई पछ्याउनै गाह्रो भइरहेको छ । अहिले विद्यार्थीले परीक्षा नै नदिई उत्तिर्ण हुने प्रणाली आईसक्यो ।

सरकारले बनाइदिएको परिधिभित्र बसेर हामीले शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने हुन्छ । उक्त परिधिबाट बाहिर गएर पठन पाठन सञ्चालन गर्यौं भने कारवाही हुन्छ । देशको शिक्षालाई कतातिर लैजाने भनेर उच्च ओहदामा बस्ने चालकहरूले निर्धारण गर्नुपर्यो । हामीले हाम्रो कलेजबाट विद्यार्थीलाई कसरी प्रयोगात्मक शिक्षा दिन सकिन्छ भनेर फोकस गरिरहेका छौं ।

अहिलेका विद्यार्थीसँग घरायसी व्यवहारिक ज्ञानको कमी पाइन्छ । जुन अभिभावकले आफ्ना छोराछोरीलाई सिकाउन जरुरी छ । सरकारले अहिले जीवन उपयोगी भनेर एउटा विषय पनि थपेको छ । जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता पनि हो । अहिले संसार नै एउटा सानो गाउँ जस्तै भइसकेको छ । हामीले अमेरिकामा चाहिने म्यानपावर तयार गर्न सक्नुपर्छ । अमेरिकाले नेपालमा चाहिने म्यानपावर तयार गर्नु सक्नुपर्छ अनि मात्र ग्लोबलाइज हुन सकिन्छ । विद्यार्थीले पनि आफूलाई परिवर्तन गर्न सक्नुपर्छ । वि.सं. २०७२ सालको भूकम्प, कोभिड–१९ पछि विद्यार्थीको पढ्ने मनस्थिति छैन । किनभने त्यो बेला विद्यार्थी परीक्षा नै नदिई उत्तिर्ण हुन पाए । परीक्षा नदिएपछि उसको शैक्षिकस्तर खच्कियो । जुन अन्तरको खाडल अहिले स्नातक तह तथा स्नातकोत्तरमा देखा परिरहेको छ ।

अहिलेका करिब ८० प्रतिशत विद्यार्थीले पढाइप्रति रुचि राख्दैनन् । र, बाँकी २० प्रतिशत पढ्न खोज्छन् । यसको मतलब मासले नै पढ्न खोजिरहेको छैन । प्लस टु पछि करिव ८०/९० प्रतिशत विद्यार्थी विदेश जान्छन् । नेपालमा पढाइ सकेपछि रोजगारीको सुनिश्चितता नभएको कारण पनि विद्यार्थी पढाइलाई छाडेर विदेश जाने कोसिस गर्छन् । नेपालको शिक्षालाई सुधार गर्न सकेनौं भने यसको असर प्रत्येक क्षेत्रमा पुग्छ । किनभने अहिलेको युवा पुस्ता नेपालमा शिक्षा राम्रो छैन भन्ने मनस्थिति बनाएर विदेशिएको पाइन्छ ।

नेपालको शिक्षा सैद्धान्तिक हिसाबले अब्बल छ । तर, विद्यार्थीलाई प्रयोगात्मक र शिक्षापछिको रोजगारको सुनिश्चितता गर्न नसक्दा वैकल्पिक उपायको रूपमा विदेश रोजे । आजको भोलि नै विद्यार्थीलाई विदेश जानबाट रोक्न सम्भव छैन । त्यसैले नीतिगत तहमा नै गएर यसको सुधार आवश्यक छ ।

नेपाल एकपटक मेडिकल शिक्षाको लागि निकै चर्चित थियो । भारत, बंगलादेश, चीन, भुटान लगायतका विभिन्न मुलुकबाट मेडिकल शिक्षाका विद्यार्थी नेपाल आउने गर्थे । तर, आजको दिनमा नेपालको मेडिकल शिक्षा पनि खच्किन थालेको छ । यहीँका विद्यार्थी मेडिकल शिक्षा लिनको लागि विदेश जान थालिसकेको अवस्था छ । यसरी हाम्रो शैक्षिक प्रणाली कमजोर हुँदै गयो भने हामी इतिहासको पानामा मात्र सीमित हुन्छौं । तर, यसको सुधार गर्न सकिने ठाउँ भने छ । यसलाई बनाउनुपर्छ । बनाउने जिम्मा तपाईं हामीको नै हो ।

विद्यार्थीले पढिसकेपछि बजारमा खपत भयो भने मात्र ऊ यहाँ अडिन्छ । नासा इन्टरनेशनल कलेजले स्नातक तहमा दुई वटा सेक्सन बनाएर ४०/४० जना विद्यार्थी राखेर पढाउँथ्यो । अहिले एउटा सेक्सनमा २०/२५ जना विद्यार्थी नभएको अवस्था छ। यसको अर्थ स्नातक तहमा पढ्ने विद्यार्थी छैनन् । विद्यार्थी नहुँदा स्नातक तह पढाइ हुने धेरै कलेज बन्द भइसकेको अवस्था छ । हजारौं विद्यार्थी प्लस टु सकेपछि विदेशिन्छन् । त्यसको प्रत्यक्ष मार स्नातक तहका कलेजले भोग्नुपरेको छ । त्यसबाट नासा कलेज पनि अछुतो छैन ।

त्रिभुवन विश्वविद्यालय (टीयु)लाई नेपालको जेठो विश्वविद्यालयको रूपमा लिइन्छ । जहाँ धेरै विद्यार्थीहरूकाे चाप हुन्छ । तर, अहिले टीयुले पनि स्नातक तह पढ्ने विद्यार्थी नपाई राख्दा अरू विश्वविद्यालयको अवस्था कस्तो होला त्यो भन्नै पर्दैन ।
टीयु नियमित तालिकामा चल्न नसक्दा आज यो विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको देखिन्छ । टीयुलाई सुधार गर्न प्रयास त भएकाे छ । तर, सोही अनुरूपको काम भने नभई रहेको अवस्था हो । विश्वविद्यालयले जब विश्व बजारमा खपत हुने खालकाे जनशक्ति उत्पादन गर्न सक्छन् तब मात्र विद्यार्थी नेपालमा बस्छन् ।

नेपालको शिक्षा सैद्धान्तिक हिसाबले अब्बल छ । तर, विद्यार्थीलाई प्रयोगात्मक र शिक्षापछिको रोजगारको सुनिश्चितता गर्न नसक्दा वैकल्पिक उपायको रूपमा विदेश रोजे ।

विश्वभरका विद्यार्थी आउन/जानको लागि शैक्षिक स्तरकाे वातावरण हुनुपर्छ । जुनसुकै देशबाट पनि यहाँ आएर पढ्न सक्ने वातावरण भए मात्र शैक्षिक हबको कल्पना गर्न सकिन्छ । त्यसैले विद्यार्थीलाई ग्लोबलाइज शिक्षा दिनुपर्छ । विश्वविद्यालयमा व्यापक कमी कमजोरी छन् । त्यसको सुधार गरी अगाडि बढ्नु अहिलेकाे आवश्यकता हो ।

शिक्षा प्रधान भएको प्रमाण पत्र प्राप्त भयो तर, सिप नहुनाले नेपालीलाई समस्या बनायो । विश्वविद्यालयलाई विद्यार्थीको खाँचो खड्किसकेको छ । नेपालमा सञ्चालित र नयाँ आउने विश्वविद्यालयले विद्यार्थीलाई विदेशीनबाट रोक्न सक्ने नयाँ प्याकेज ल्याउनु पर्यो । हामी अन्तर्राष्ट्रिय भाषामा धेरै पछाडी छौं । जसका कारण हामी बजारमा सेलेबल भइरहेका छैनौं । अहिलेका ५ प्रतिशत युवा पुस्ताको मात्र अङ्ग्रेजी राम्रो छ । उनीहरूको बजारमा सेलेबल भएका छन् । अहिलेको समयमा कम्प्युटर र अङ्ग्रेजी भाषाको ज्ञान जरुरी छ ।

विद्यार्थी विदेशमा आकर्षित भएको कारण पैसा पनि हो । ग्रेजुएसन सकेका विद्यार्थीले नेपालमा २०/३० हजार रुपैयाँको जागिर पाउनसमेत मुस्किल छ । तर, विदेश गयो भने राम्रो शिक्षाका साथै आम्दानी पनि आकर्षक हुने भएकाले अन्ततः ऊ विदेश लाग्छ । रुस र युक्रेनबीच भएको युद्धका कारण रोजगारको बजार डाउन भएको छ ।

विद्यार्थीहरूले अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा सहजै काम पाउन गाह्रो छ । अहिले जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेर हौसिएर नजानुहोस् सिकेर जानुहोस् । हातमा सिप भए तपाईंले त्यहाँ काम पाउनुहुन्छ नभए काम पाउन सकस हुन्छ ।

विद्यार्थीहरू विदेशबाट फर्केर आउने सम्भावना छैन । नेपालको पूर्वाधार विकासका साथै यसमा भएको ढिलासुस्तीका कारण पनि मान्छे नेपाल बस्न रुचाई रहेका छैनन् । जब देशमा पूर्वाधारको विकास हुन्छ, आर्थिक अवस्था पनि सुदृढ हुँदै जान्छ तब मात्र केही हुन्छ । अहिले काठमाडौं महानगरपालिकाले ‘बुक फ्री फ्राइडे’को अवधारणा ल्याएको छ । जुन एकदमै राम्रो कदम हो ।

शिक्षाका नीति नियम अब सरकारी कर्मचारीबाट बनाउने हाेइन । उक्त नियम विद्वान वर्गले बनाउनुपर्छ । कर्मचारीको मनसायबाट हेरेको शिक्षा विद्वान वर्गबाट हेरिने शिक्षा फरक हुने भएकाले शिक्षामा भिजेका मान्छेको सल्लाहबाट नियम बनाउँदा उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ हो । नेपालको शिक्षाले अहिले आमूल परिवर्तनको माग गरिरहेको छ ।

विद्यार्थीको रोजाइ बन्दै ‘नासा’
नासा इन्टरनेशनल कलेज काठमाडौं उपत्यकाको उपयुक्त ठाउँमा भएको कलेज हो । औसत ‘फी’को स्ट्रक्चर, गुणस्तर शिक्षा नासामा भएका कारण हाम्रो कलेज धेरै विद्यार्थीको रोजाइमा पर्ने गर्छ । नासामा प्लस टुदेखि स्नातक तहसम्मको पढाइ हुन्छ । प्लस टुमा साइन्स र म्यानेजमेन्ट तथा स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) र ब्याचलर अफ आर्ट्स इन सोसियल वर्क (बीएसडब्लु) संकायको पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालय सम्बद्ध रहेको स्नातक तहमा पढाइ हुने उक्त कोर्समा विद्यार्थीको आकर्षण राम्रै छ । यद्यपी पहिलाको तुलनामा भने केही कम हो ।

विद्यार्थी विदेशमा आकर्षित भएको कारण पैसा पनि हो । ग्रेजुएसन सकेका विद्यार्थीले नेपालमा २०/३० हजार रुपैयाँको जागिर पाउनसमेत मुस्किल छ ।

अहिलेको समयमा विद्यार्थीले गुणस्तर शिक्षा हेर्नुपर्छ । जुन शिक्षा नासाबाट विद्यार्थीलाई प्रदान भएको छ जस्तो मलाई लाग्छ । सो हिसाबले पनि विद्यार्थीले हामीलाई खोज्दै आएको पाउँछौं । विगतका दिनमा विद्यार्थीहरूका माझ नासाले कुनै न कुनै हिसाबले छाडेको असल छाप कारण पनि त्यसको प्रभाव अहिलेसम्म परेको देखिन्छ । विद्यार्थीलाई म कलेज छान्नु अगाडि विषयको छनोट गर्नका लागि सुझाव दिन्छु । विद्यार्थीले आफू को हुँ र आफूलाई कुन क्षेत्रबाट अगाडि बढाउन सक्छु भन्ने क्षमताको पहिचान गरी सोही आधारित संकाय छनोट गर्नुपर्छ । किनभने विद्यार्थीको इच्छा फरक हुनसक्छ । त्यसलाई अभिभावकले पनि बुझ्नुपर्छ । विद्यार्थीले कलेज छनोट गर्दा उक्त कलेजको अवस्था के छ ? त्यहाँको पास रेकर्ड कस्तो छ ? आफूलाई पायक पर्ने ठाउँमा छ छैन भनेर पनि विद्यार्थीले हेर्नुपर्छ ।

यदि तपाईंले नासामा जोडिने योजना बनाउनु भएको छ भने नासा कलेजबाट पास भएर गएका विद्यार्थीहरूलाई पनि तपाईंले सोध्नु होला नासामा पढाइ कस्तो छ भनेर । उहाँहरूले ठिक छ भने आउनु होला नभए विकल्पमा अरू कलेज छँदैछ ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीको लागि कायम गरेको छात्रवृत्तिलाई पूर्णरूपमा लागू गरिरहेका छौं । हाम्रो कलेजमा गत वर्ष कक्षा ११ मा करिव ५ सय जना विद्यार्थी भर्ना भएका थिए । उक्त भर्ना भएका मध्ये ५० जना विद्यार्थीलाई हामीले निःशुल्क पढाएका थियौं । त्यसका अलावा उत्कृष्ट नतिजा ल्याउनुका साथै अब्बल विद्यार्थीको लागि पनि नासा कलेजले छात्रवृत्ति दिँदै आएको छ । हामीले नासालाई कम्प्लिट एजुकेशन हब बनाउन खोजिरहेका छौं । आफ्नै पूर्वाधारबाट विद्यार्थीलाई गुणस्तर शिक्षा सेवा उपलब्ध गराउने नासाको आगामी उद्देश्य हो । नासाले प्रयोगात्मक शिक्षालाई पनि उत्तिकै महत्व दिँदै पठनपाठन सञ्चालन गर्दै आएको छ । ग्लोबलाइज एजुकेसनमा नासा फोकस छ ।

(श्रेष्ठ नासा इन्टरनेशनल कलेजका निर्देशक हुन् । उनीसँग केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीमा आधारित)

Logo